झापा,२७ जेष्ठ । नेपालमा आज मंगलबार थप ९६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । पछिल्लो २४ घन्टामा ९६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मंगलबार गरेको नियमित मिडिया ब्रिफिङमा ८८ पुरुष र ८ महिला डिस्चार्ज भएर घर फर्किएको बताएको छ । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ५ सय ८४ रहेको छ । जसमा पुरुष ५०७ र ७७ महिला छन् ।
डिस्चार्ज हुनेहरुमा कोभिड १९ अस्पताल जनकपुरबाट धनुषाका ३० जना , कोभिड १९ युनिफाइड कमाण्ड बलम्बु अस्पतालबाट काठमाडौंका १ जना , कोहलपुर आइसोलेसन सेन्टरबाट बाँकेका २२ जना , राप्ती सोनार आइसोलेसन सेन्टरबाट बाँकेका ७ जना , बीपी प्रतिष्ठान धरानबाट झापाका २८ जना, कोरोना विशेष अस्पतालबाट दाङबाट बर्दियाका ४ जना र जिल्ला अस्पताल दैलेखबाट दैलेखका १ जना डिस्चार्ज भएर घर फर्किएका हुन् ।
त्यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । मंगलबार थप १ जनाको कोरोनाका कारण मृत्यु पुष्टि भएको स्वाथ्य मन्त्रालयले जनाएको छ । चितवन भरतपुर नगरपालिका–११ का एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार उनी ज्वरो, निमोनिया र सुगरको बिरामी थिए ।