adv

विश्वभर एकैदिन अहिलेसम्मकै उच्च संख्या एक लाख ८३ हजारमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ,८ असार । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्मकै बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । डब्लूएचओका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार जनामा कोरोना पुष्टि भएको छ ।

त्यसमध्ये सबैभन्दा बढी ब्राजिलमा ५४ हजार ७ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न देशहरुले परीक्षणको दायरा बढाएको र केही ठाउँमा व्यापक रुपमा संक्रमण भएकाले संक्रमितको संख्या ह्वात्तै बढेको जनस्वास्थ्यविद्हरुले बताएका छन् । अर्थतन्त्र र दैनिक जीवन चौपट भएको भन्दै विभिन्न देशहरुले लामो समयदेखि कायम रहेको लकडाउनलाई खुकुलो बनाउँदै लगेका छन् । सोमबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८९ लाख २९ हजारभन्दा बढी पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये ४४ लाख १९ हजारभन्दा बढी निको भएका छन् भने ४ लाख ६७ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । सोमबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख ७९ हजारभन्दा बढी पुगेको छ । त्यस्तै अमेरिकामा हालसम्म करिब एक लाख २० हजारको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा ६ लाख २२ हजारभन्दा बढी निको भएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा १० लाख ८३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ब्राजिलमा संक्रमण पुष्टि भएका मध्ये ५० हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ भने ५ लाख ८८ हजारभन्दा बढी निको भएका छन् ।

त्यस्तै रुसमा ५ लाख ८३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । रुसमा कोरोना संक्रमणबाट करिब ८ हजार १ सयको मृत्यु भएको छ भने ३ लाख ३९ हजारभन्दा बढी निको भएका छन् ।

त्यस्तै संक्रमणका हिसाबले चौथो स्थानमा रहेको भारतमा अहिलेसम्म ४ लाख १० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट १३ हजार २ सय ५४ जनाको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये २ लाख २७ हजारभन्दा निको भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु