काठमाडौं ,११ असार । हरेक वर्ष चट्याङ परेर कैयौं मानिसको ज्यान जाने गरेको छ । आज मात्रै देशका विभिन्न ठाउँमा चट्याङ लागेर ७ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । चट्याङ भन्नासाथ हामी सबैको मनमा एक किसिमको डर पैदा हुन्छ । तर केही सतर्कता अपनाएमा चट्याङबाट बच्न सकिन्छ ।
चट्याङबाट बच्न यी उपाय अपनाउनुहोस् :-
१. चट्याङ परेको समयमा अग्ला स्थान, टावर र ठूला रुखमुनि ओत लाग्नु हुँदैन ।
२. थचक्क बस्नुपर्छ, हातलाई घुँडामा टेकाएर टाउको तिनको बीचमा राख्नु बेश हुन्छ।
३. दिउँसो ३ देखि ४ बजेसम्मको समयमाचट्याङ पर्ने सम्भावना बढी हुन्छ । तसर्थ, चट्याङ पर्ने संकेत देखिएका वेला घरमै बस्न उचित हुन्छ ।
४. छाता खोल्ने या मोबाइल फोन प्रयोग गर्ने गर्नु हुँदैन किनभने यिनमा भएका धातुले करेन्टलाई शरिरतर्फ तान्न मद्दत पुर्याउन सक्छ।
५. घरका विद्युतीय सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, फोन आदि चट्याङ परेको समयमा प्रयोग नगर्ने ।
६. चट्याङ परेको वेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग गर्नु हुँदैन । साथै, यो वेला धातुको तारबारनजिक बस्नु हुँदैन ।
७. एकै ठाउँमा चट्याङ दोहोर्याएर कहिल्यै पर्दैन भन्ने भनाई गलत हो। त्यसैले होशियार हुनैपर्छ। क्युमलोनिम्बस नामको बादल रहेसम्म चट्याङपर्ने सम्भावना रहन्छ ।
८. चट्याङ लागेर कोही घाइते भए तुरुन्त प्राथमिक स्वास्थ्य केन्द्र लैजाने । एजेन्सी