adv

झापामा स्थापना हुने पिसिआर ल्यावका लागि दाताहरुबाट एकैदिन ५ लाख ३६ हजार सहयोग

बिर्तामोड । झापामा पिसिआर ल्याव स्थापना गर्न जनस्तरबाट दैनिक रुपमा रकम जुटने काम भईरहेको छ ।

कोटिहोमस्थित समर्पण भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्ने दृढता राखेर निरन्तर सक्रिय बनिरहेको एकका लागि एक अभियानका लागि आर्थिक सहयोग गर्ने दाताहरुकोे संख्या दिनप्रतिदिन बढन थालेको छ ।

सोमबार मात्र दाताहरुले पाँच लाख ३६ हजार २८२ रुपैयाँ ल्याब स्थापनाका लागि प्रदान गरेका छन् । एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई उनीहरुले नगद हस्तान्तरण गरेका थिए ।

बिर्तामोड–२ चैतुबारीका धार्मिक तथा ज्येष्ठ नागरिक ९० वर्षीय विष्णुप्रसाद ओलीले ५१ हजार १११ रुपैयाँ प्रदान गरे । उनले सञ्चारमध्यममा समाचार सुनेर अभियानलाई सहयोग गरेको बताए । दातासमेत रहेका समाजसेवी लोकबन्धु कन्दङवाले रकम प्रदान गरेको समाचार सुनेर आफूले पनि इच्छा व्यक्त गरेको ओलीले सुनाए ।

अभियानका सहसंयोजक विनोद बस्नेत, सदस्य मदनगोपाल सुब्बा, केदार गिरी र कन्दङवा ओलीको घरमै पुगेर रकम ग्रहण गरेका थिए । रकम हस्तान्तरणपछि ओलीले सबै ज्येष्ठ नागरिक पनि अभियानमा जोडिनुपर्ने धारणा राखेका थिए ।


यसैबीच, सोमबारै अतिथि सदनमा भएको कार्यक्रममा छजना दाताले रकम हस्तान्तरण गरे । यसअघि नै घोषणा गरेको अमेरिकास्थित मिसन रिबिल्ड नेपालले दुई लाख, बिर्तामोडका व्यवसायी प्रदिप मित्तलले एक लाख एक हजार, मेचीनगरका समाजसेवी गोमादेवी मैनाली र मोहनकुमार भेटवाल दम्पत्तीले ७१ हजार १७१, बिर्तामोडका सुरेन्द्र ओडारी र पुनम ओडारी दम्पत्तीले ५१ हजार, वन पैदवार उद्योग व्यवसायी संघ झापाले ५१ हजार र डिएन्डबी स्टोर्सका सञ्चालक दुर्गा थपलियाले ११ हजार रुपैयाँ हस्तान्तरण गरे ।

नेपाल र अमेरिका दुवै देशमा गैरनाफामुलक संस्थाको रुपमा दर्ता भई सामाजिक कार्य गर्दै आएको मिसन रिबिल्ड नेपाल २०७२ सालको विनाशकारी महाभूकम्पपछि नेपाल र नेपालीलाई सहयोग गर्ने उद्देश्यले स्थापित अमेरिका र नेपालमा रहेका चिकित्सक, इन्जिनियर र अन्य पेसाकर्मीको साझा संस्था हो ।
मित्तल बिर्तामोडका सफल व्यवसायी हुन् भने भेटवाल दम्पत्तीले आफ्ना स्वर्गीय मातापिता खड्गप्रसाद तथा गंगादेवी न्यौपाने मैनालीको पुण्य स्मृतिमा रकम प्रदान गरेका हुन् ।

त्यस्तै, ओडारी दम्पत्ती तथा परिवारका सदस्य युवराज तथा रोजी ओडारी र गणेश तथा गीतु ओडारीले स्वर्गीय माता भक्तिमाया ओडारीको पुण्य स्मृतिमा रकम प्रदान गरेका हुन् । लायन्स क्लब अफ बिर्तामोड सिटीका तृतीय उपाध्यक्ष थपलिया रेडिमेड कपडाका थोक व्यवसायी हुन् ।
रकम ग्रहणपछि अभियानको तर्फबाट संयोजक महेन्द्रकुमार गिरीले सबै दाताहरुलाई विशेष धन्यवाद ज्ञापन गरे । उनले पिसिआर ल्याब स्थापनाका लागि गरेको सहयोग रकमले जिल्लाबासीलाई फाइदा पुग्ने र भविष्यमा योगदानको चर्चा हुने उल्लेख गरे ।

पत्रकार एकराज गिरीले सहजीकरण गरेको कार्यक्रममा अभियानका सदस्य तथा दाता रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुरका अध्यक्ष गंगाप्रसाद ओलीले अभियानका बारे प्रकाश पारेका थिए । कार्यक्रममा स्वागत अभियानका सदस्य बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेका थिए ।
अभियानले ल्याब सञ्चालन गर्न आर्थिक संकलन तीव्र बनाएको छ । अभियानअन्तर्गत झापामा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाका लागि सहयोग जुट्ने क्रम जारी छ । अभियानले ल्याबका लागि ८५ लाख रुपैयाँ संकलन गरिसकेको छ ।

कार्यक्रममा अभियानमा साझेदार संस्थाका प्रतिनिधिहरु मदनगोपाल सुब्बा, नवीन कोइराला, गजेन्द्र पौडेल, कुमारमणि पोखरेल, सजेश शिवाकोटी, निर्मल कुमार भट्टराई , प्रकाश शिवाकोटी, मनोज बुढाथोकी, मिजास पोखरेल, शिव कँडेल, प्रविण खड्का, अर्जुन चुडाल, गोपाल ओली, सञ्जिव घिमिरे लगायतको सहभागिता रहेको थियो ।

सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाको रुपमा साउन १ गतेबाट ल्याब सञ्चालन हुने गरी सम्पूर्ण तयारी पूरा गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिने एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु