झापा,४ श्रावण। भोलि सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु साेमबारबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।
आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले साेमबारबाट यातायात सञ्चालन गर्ने बताएका छन् । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि भोलि बिहानबाट यातायात सञ्चालन गर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन गरेको र व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले बताए ।
सरकारले हाललाई जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न अनुमति दिएकाे छ । काठमाडौं उपत्यकाको हकमा भने याे लागू नहुने बताएकाे छ । अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन्।व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।
कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गरेर सवारी चलाउन र यात्रा गर्न आग्रह गरिएको छ

