काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)बाट निको हुनेको सड्ंख्या १२ हजार ४७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६०९ जना सङ्क्रमित उपचारपछि निको भएसंगै निको हुनेको कुल संख्या १२,४७७ पुगेको हो ।
त्यस्तै नेपालमा कुल सङ्क्रमित संख्या १७ हजार ९९४ पुगेको छ। भने ४० जनाको कोरोनाबाट मृत्यु भएको छ ।
हालसम्म सातवटा जिल्ला कोरोना मुक्त रहेको छ । यस्तै तीन जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित छन् । देशभरका विभिन्न क्वारेन्टाइनमा २१ हजार ७०४ जना छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४७७ जना र क्वारेन्टाइनमा २१ हजार ७०४ जना छन् ।
यसैबीच विदेशबाट आएका नागरिक सीधै घरमा गएर बस्न पाउने भएका छन् । मन्त्रालयको होम क्वारेन्टाइनसम्बन्धी मापदण्डअनुसार विदेशबाट आउनेहरू सीधै घर गएर होम क्वारेन्टाइनमा बस्नेछन् ।
यसअघि विदेशबाट आएका नागरिक एक हप्ताभित्र गरेको पीसीआर रिपोर्ट देखाए मात्र होम क्वारेन्टाइनमा जान पाउँथे ।
प्रवक्ता गौतमले सरकारले बनाएको नयाँ मापदण्डमा नेपाल फर्केको व्यक्तिले होम क्वारेन्टाइनमा बस्ने इच्छा गरेमा स्थानीय तहको सहमति र प्रत्यक्ष निगरानीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी पठाउने व्यवस्था गरिएको जानकारी दिए । मापदण्डअनुसार होम क्वारेन्टाइनमा बस्दा छुट्टै कोठा र शौचालय छुट्टै हुनुपर्ने, अन्य व्यक्तिसँग भेटघाट गर्न पाइने छैन । यसैगरी घरपरिवार वा आफन्तसँग दुई मिटर दूरी अनिवार्य कायम गर्नुपर्ने मापदण्डमा व्यवस्था गरिएको छ ।
मेडिकल मास्क वा तीन तहको कपडाको मास्क अनिवार्य प्रयोग गरी सामाजिक दूरी कायम गरेर मात्र परिवारका सदस्यसँग भेटघाट गर्न पाउने व्यवस्था गरिएको छ । क्वारेन्टाइन अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनेजस्ता नियम तय गरिएको छ ।