काठमाण्डौ,१९ साउन । अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । विशेषगरी प्रदेश १, २, वाग्मती र प्रदेश ५ का धेरैजसो ठाउँमा पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।
यी प्रदेशका थोरै ठाउँमा ठूलो पानी परिरहेको छ भने धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ । महाशाखाले १० जिल्लामा उच्च सावधानी अपनाउन समेत आग्रह गरेको छ ।
सिन्धुपाल्चोकको बलेफी जलाधार क्षेत्रमा ठूलो पानी परेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो । सिन्धुपाल्चोकको धाप, गुमथाङ, बाह्रबिसे र आसपासको क्षेत्रमा ठूलो पानी परेको हो ।
यस्तै आज पाँचथर, इलाम, ओखलढुङ्गा, दोलखा, रसुवा, धादिङ, गोरखा, नवलपरासी, कपिलवस्तु र आसपासका क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना छ । ठूलो पानी परेका क्षेत्र र नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।