झापा । लामो प्रयासपछि भद्रपुरको मेची अस्पतालमा कोरोनाको उपचार र नमुना परीक्षण सुरु भएको छ ।
प्रदेश नं १ सरकारले अस्पताललाई दिएको पीसीआर मेसिनमा सोमबारदेखि कोरोनाको नमुना परीक्षण सुरु गरिएको हाे । हिजैकाे दिनदेखि कोरोना सङ्क्रमितको उपचार समेत थालिएको छ ।
सोमबारदेखि अस्पतालको आइसोलेसनमा सङ्क्रमितको उपचार र पीसीआर प्रयोगशालामा कोरोनाको नमुना परीक्षण भएको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले पुष्टि गरेका छन् ।
बिर्तामोड १ र अर्जुनधाराका ४ जना कोरोना सङ्क्रमितलाई ल्याएर आइसोलेसनमा भर्ना गरिएको र उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।
यहाँ भइरहेको कोरोना परीक्षणको नमुनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा लगेर भेरिफाई गरेर मात्र सार्वजनिक गरिने भएको छ । आज बुधबारदेखि सम्भवतः नियमित परीक्षण सुरु गरिने अस्पतालका अध्यक्ष पोर्तेलले जानकारी दिए ।
अस्पतालमा यसअघि आइसोलेसन रहेता पनि सङ्क्रमितलाई राख्ने गरिएको थिएन । तर, प्रदेश सरकारले आवश्यक सहयोग र सुविधा दिने भएपछि सङ्क्रमितको उपचार समेत गर्न थालिएको हो । प्रदेश सरकारले हालै २ वटा भेन्टिलेटर समेत अस्पताललाई दिएको छ ।
यसैगरी झापाको कनकाईमा समेत जनस्तरबाट ठूलो धनराशी संकलन गरी पीसीआर प्रयोगशाला स्थापना गरिसकिएको छ । एकका लागि एक अभियानले प्रदेश सरकारकै मातहतमा सञ्चालन गर्ने गरी प्रयोगशाला सरकारलाई हस्तान्तरणको तयारी भइरहेको छ ।