adv
adv

नेपाली पत्रकारिता क्षेत्रमा एक उदाहरणीय पात्र ‘भगिरथ’

भगीरथ, एउटा समाचार टिप त’, ‘भगीरथ, एउटा न्युज दिनु न,’ इलामका पत्रकार भगीरथ भण्डारीले दैनिक रूपमा आफ्नै मिडियामा सामना गर्नुपर्ने प्रश्न हुन् यी । यति मात्र होइन, अरू मिडियाका पत्रकार पनि खुसुक्क उनको मिडियामा पस्छन् अनि ‘अस्तिको समाचार मलाई पनि है’ भन्दै निस्कन्छन् । भगीरथले सामना गर्नुपर्ने काम भने यतिमा मात्रै सीमित छैनन् । घरायसी मामिलादेखि अन्य काम पनि छन् उनका तर यति सबै काम गर्ने भगीरथको हात भने एउटा मात्र छ । उनी एउटै हातका भरमा तमाम काम भ्याइदिन्छन् ।

उनी अपांगता भए पनि पत्रकारितामा यसको छायाँ भने पर्दैन । एउटै हातले समाचार लेखर पनि भगीरथ अहिले राजधानी दैनिक र जनता टेलिभिजनको इलाम संवाददाता छन् भने इलाम पोष्ट दैनिकको प्रबन्ध सम्पादक । उनका सामु दैनिक रूपमा आउने काम भनेको इलाम पोष्टको विज्ञापन व्यवस्थापन/आर्थिक कारोबार अनि टेलिभिजनमा भिडियो र राजधानी दैनिकलाई समाचार पठाउने ।

यी सबै काम उनी एकै हातको भरमा गर्छन् । जोकोहीलाई भगीरथको काम देख्दा अपांगता भएको भान हुँदैन । सँगै रहेका साथीभाइले एउटा काम गर्दा उनलाई दुईभन्दा बढी गर्नुपर्ने बाध्यता आइलाग्छ । योभन्दा अचम्मको कुरा त के हो भने भगीरथ एकै हातको भरमा टाइप गर्छन् र पत्रिकाको डिजाइन पनि । जोकोहीले दुवै हातले गर्न नसक्ने काम भगीरथ एकै हातले गर्छन् ।

करेन्टले लगेको त्यो हात

२०६९ साल साउन १२ गते भगीरथलाई कालो दिन लाग्छ । इलामको फाकफोकथुम गाउँपालिकास्थित आमचोकका भगीरथ अध्ययनका लागि इलामको देउमाई नगरपालिकास्थित मंगलबारे बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्ष अध्ययन गर्दै थिए । त्यस दिन घरभेटीले घरको छानाको पानी कटाउन पाइपको डुँड लाउँदै थिए । त्यसैबेला घरबेटीले उनलाई पनि सहयोगका लागि बोलाए । घरबेटीको वचन काट्न नसकेर सहयोग गर्न जानुपर्ने भयो । जाँदाजाँदै उनलाई घरबाट एकमिटर पर रहेको ११ हजार भोल्टेजको लाइनले तानेर टाँस्यो । ‘एघार हजार भोल्टेज भएको लाइनले केही टाढाबाटै तान्दो रहेछ, झन् त्यो दिन त पानी परेकाले सबैतिर चिसो थियो, तारमा लगेर टाँसेछ मैले त केही पत्तै पाइनँ,’ भगीरथले भने, ‘करेन्ट लागेपछि एक्कासि लाइन गएछ । हात तारमा र खुट्टा छानामा भयो ।’

वरपरका मान्छे भेला भएर भगीरथलाई भुइँमा सुताएछन् । धेरैले मरेको ठानेका रहेछन् तर खुट्टाको औँला चलेपछि ‘सास छ’ भन्दै मंगलबारेको अस्पताल लगेछन् । उपचारका लागि त्यहाँबाट इलाम अस्पताल हुँदै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएछ । ‘म होसमा आउँदा धरानमै अस्पतालमा थिएँ,’ उनले भने । उपचारका लागि चार दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बस्नुपर्‍यो ।

त्यसपछि थप उपचारका लागि ५९ दिन सुषमा कोइराला मेमोरियल ट्रष्टमा बस्नुपर्‍यो । ट्रष्टमा करेन्ट लागेको हात काट्नै पर्ने अस्पतालले बतायो । ‘मनमा अनेकौँ कुरा खेल्न थाले तर अब जिन्दगीभर एकै हातको भरमा बाँच्नुपर्छ भन्ने लाग्यो,’ भगीरथले अँध्यारो मुख पार्दै भने, ‘फाल्दा बाँचिन्छ भने फालौँ न त भनेँ ।’ उपचार सफल भएर बाँचेपछि भगीरथ भने आफू भाग्यमानी रहेको बताउँछन् । ‘दाहिनेतिरबाट लाइनको तारले तानेको थियो तर देब्रे हात बिग्रियो,’ उनी भन्छन्, ‘देब्रे हातमा घडी लगाएको थिएँ त्यसले पनि छिटो तानेछ ।’ उनको देब्रे हात चुँडियो भने दाहिने हात र दाहिने खुट्टामा दाग छ ।

यो दुर्घटनाबाट बाँचेका भगीरथ गत वर्ष मोटरसाइकल दुर्घटनामा परे । समाचार संकलन गर्न जाने क्रममा इलाम चोक बजारमै मोटरसाइकलले ठक्कर दिएपछि एक हप्ता अस्पतालको सम्पर्कमा रहे । यो दुर्घटनामा पनि उनको पहिले दुर्घटनामा परेको हातमै समस्या पर्‍यो तर दीर्घकालीन समस्या भने आएन ।

पत्रकारितामा भविष्य देख्दैनन्

यति धेरै संघर्ष गरे पनि उनी पत्रकारितामा भविष्य देख्दैन् । जिल्लाभित्र वा बाहिरका मिडियामा काम गरे पनि हात मुख जोड्न समस्या हुने गरेको उनी बताउँछन् । छ वर्षदेखि अनवरत पत्रकारिता गर्दै आएका उनले सन्दकपुर दैनिकको व्यवस्थापक र डिजाइनर भएर चार वर्ष काम गरे ।

लामो समय खट्दासमेत दुःख गरेअनुसार पैसा नभएपछि विकल्प खोज्नु पर्ने स्थिति आएको उनी बताउँछन् । ‘न स्थायी होइन्छ न त तलबीमै राखिन्छ,’ उनी भन्छन्, ‘साह्रै धेरै मिडियामा काम गर्दा पनि जीवन धान्न कठिन भएको छ ।’रासस

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु