ईलाम ,२९ साउन । इलामको सन्दकपुर गाउँपालिकामा वडा सदस्य सहित ४ जनामा कोरोना संक्रमण देखिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईका अनुसार साउन २३ गते समुदायका ५० जनामा गरिएको टेस्टमा एक जना वडा सदस्य र ३ जना हाइड्रोपावरका कर्मचारीमा कोरोना देखिएको हो । उनका अनुसार कोरोना देखिएको हाइड्रोपावरका एक जना कर्मचारी स्थानीयबासिन्दा रहेका छन् ।
केही दिन अघि सन्दकपुरमा रहेको पञ्चकन्या हाइड्रोपावर मर्मत गर्न आएका ११ जनामा कोरोना देखिएपछि समुदायमा टेस्ट गरिएको थियो ।
समुदायमा कोरोना फैलन नदिनका लागि गाउँपालिकाले साउन २२ गते बाट एक साताको लागि सिल गरेको थियो । कोरोना संक्रमित देखिएपछि सिल लम्व्याउने वा नलम्व्याउने भन्ने बिषयमा बैठक बसेर निर्णय गरिने राईले बताए ।
योसंगै इलाममा अहिलेसम्म कुल कोरोना संक्रमितको संख्या ८१ जना पुगेको छ ।