
काठमाडौँ ,३१ साउन । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।
भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘अहिलेसम्मको माया र समर्थनका लागि धन्यवाद । ७ : २९ बजेपछि मलाई रिटायर्ड खेलाडीका रुपमा लिनुहोला ।’
साथै उनले आफ्नो करियरको विभिन्न आरोह-अवरोहलाई ‘मैं पल दो पलका शायर हूं’ गीतसहितको भिडियो बनाएर सेयर गरेका छन् ।
धोनीले सन् २००४ मा भारतीय टिममा डेब्यु गरेका थिए । डेब्यु गरेको ३ वर्षमै उनलाई ट्वान्टी–२० टिमको कप्तानी दिइएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेटमा टीट्वेन्टी विश्वकप, एकदिवशीय विश्वकप र च्याम्पियन्स ट्रफिको उपाधि जित्ने उनी एकमात्र कप्तान हुन्। भारतले सन् २००७ मा टीट्वेन्टी विश्वकप र सन् २०११ मा एकदिवशीय विश्वकपको उपाधि जितेको थियो।

