इलाम ,३२ साउन । इलामको देउमाई नगरपालिकामा कार्यरत सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यलय इलामका कोभिड–१९ फोकल पर्सन विमल बरालका अनुसार पालिकाको इलाका प्रहरी कार्यलय मंगलबारेमा कार्यरत प्रहरी निरीक्षकमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुने २७ बर्षीय पुरुष हुन् । उनि गत साउन १९ गते विरगञ्जस्थित आफ्नो घर पुगेर कार्यक्षेत्रमा फर्किएका थिए । फर्किएपछि साउन २८ गते स्वाब संकलन गरी परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको हो ।
योसंगै इलाममा हालसम्म संक्रमितको संख्या ८२ पुगेको छ ।
कोरोना पुष्टि भएपछि पालिकाको केन्द्र मंगलबारे बजारसहित ५ वटा वडा सिल गरिएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पालिकाको ३, ४, ५, ८ र ९ वडाका क्षेत्रमा सिल गर्ने निर्णय गरेको छ। संक्रमितको कन्ट्रयाक ट्रेसिङ्को आधारमा गरिएको स्वाब संकलनको परीक्षण रिपोर्ट नआएसम्म सबै वडा सिल नै रहने कोरोना रोकथाम तथा नियन्त्रण आपतकालिन समितिको आज बसेको बैठकले निर्णय गरेको हो ।
नगरले आजैबाट लागू हुने गरी देउमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा शाखा कार्यालय, वडा कार्यालयहरू, नगरपालिकाको क्षेत्रमा रहेका सम्पूर्ण सरकारी कार्यालय, बैंक वित्तीय कार्यालय सहकारी तथा सम्पूर्ण सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक सेवादेखि बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
यस्तै मंगलबारे प्राथमिक स्वस्थ्य केन्द्रको आपतकालिन सेवादेखि बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । नगरले उक्त विषम परिस्थितिमा सम्पूर्ण नगरबासीलाई अत्यावश्यक काम देखिबाहेक घरबाहिर ननिस्कन तथा निस्कनुपरे सुरक्षाको मापदण्ड पालना गर्न समेत अनुरोध गरेको नगर प्रमुख सूर्य पोखरेलले बताए ।