adv
adv

तेह्रथुममा एक सातासम्म निषेधाज्ञा

तेह्रथुम,५ भदौ । एकैदिन नौ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीबार सूचना जारी गर्दै गए राति १२ बजेबाट भदौ ११ गतेसम्म निषेधाज्ञाको घोषणा गरेका हुन्।

कन्ट्याक्ट ट्रेसिङका क्रममा तेह्रथुममा सरकारी कर्मचारी, वकिल लगायत नौ व्यक्तिमा सङ्क्रमण देखिएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले अत्यावश्यक सेवाअन्तर्गत खाद्यान्न तथा सब्जी पसल बिहान ७ बजेदेखि ९ बजेसम्म सतर्कतापूर्वक खोल्न भने अनुमति दिएको छ।

प्रशासनले अत्यावश्यक बाहेक सवारीका साधन सञ्चालन र हिँडडुलमा समेत रोक लगाइएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको मौका उठाई अत्यावाश्यक वस्तुको कालोबजारी, जम्माखोरी, कृत्रिम अभाव तथा मूल्य वृद्धि भएको पाइए कडाइका साथ कारबाही गरिने जनाएको छ। प्रशासनले निषेधाज्ञाको पालना गरी कोभिड–१९ सङ्क्रमण फैलनबाट रोक्न जिल्लावासीलाई आह्वानसमेत गरेको छ।

स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेका अनुसार यही भदौ १ गते परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका ७४ वटा नमूनामध्ये नौ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ। उनीहरुमध्ये तीन महिला छन्।

कन्ट्याक्ट ट्रेसिङबाट लिइएका थप सात वटा नमूना परीक्षणको रिपोर्ट आउन बाँकी छ। घिमिरेका अनुसार परीक्षणका क्रममा एक जनामा सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमार्फत सम्पर्कमा रहेका अन्य व्यक्तिको स्वाब लिई परीक्षण गर्दा ठूलो सङ्ख्यामा सङ्क्रमित देखिएका हुन्।

कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब लिने क्रम अझै जारी रहेको घिमिरेले बताए। तेह्रथुममा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १० पुगेको छ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु