
ईलाम, ५ भदौ । इलामको सन्दकपुर गाउँपालिकामा थप ४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
गाउँपालिकाको वडा नं ३ र ४ मा पर्ने पञ्चकन्या हाइड्रोपावरमा कार्यरत कर्मचारीको परिवारमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो ।
सन्दकपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मनोजकुमार धुर्जारलेका अनुसार गत साउन ३० गते समुदाय स्तरमा १२७ जनामा गरिएको परिक्षणमा हाइड्रोपावरका कर्मचारीको परिवारका सदस्य ३ जना र कोरोना संक्रमित देखिएका कर्मचारीहरुले खाजा खाएको होटल मालिकलाई संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा २ महिला र २ पुरुष रहेका छन् । उनीहरुलाई इलाममा रहेको आइसोलेसनमा लग्ने तयारी भइरहेको छ । कन्टयाक ट्रेसिङमा आएकाहरुको खोजी गरेर स्वाब संकलन गरिने धुर्जारले जानकारी दिए ।
आज थपिएका ४ जना संगै सन्दकपुर गाउँपालिकामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । यसअघि वडा सदस्य सहित ४ जनालाई संक्रमण देखिएपछि अहिले इलाम अस्पतालको आइसोलेसनमा राखिएको छ ।
कोरोनाको जोखिम बढेसंगै गाउँपालिकामा लकडाउनको अवधि थप गरिएको छ । गाउँपालिकाले तेश्रो चरणमा आगामी भदौ ११ गतेसम्म लकडाउन थप गरेको हो ।

