खोटाङ, १४ भाद्र । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा भरूवा बन्दुकको छर्रा लागेर एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका ४ का ईन्द्र बहादुर तामाङको १२ बर्षीय छोरा शैलेन्द्र तामाङको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको हो ।

गत १२ गते राती घर नजिकै बारीमा बाँदर लखेट्न पड्काएको भरुवा बन्दुकको छर्राले लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृत्यु भएको खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरी टोलीले बन्दुक पड्काउने स्थानीय २३ बर्षीय मनकाजी तामाङलाई पक्राउ गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

