काठमाण्डौ, १५ भदौ । अबको २४ घण्टाभित्र देशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ र प्रदेश २ मा भने रातिदेखि नै पानी परिरहेको छ । यो क्रम केही समय अझै जारी रहने छ । यस्तै पश्चिमका केही ठाउँमा पनि आंशिक बदली भएको र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ ।
मौसमविद् वरुण पौडेलका अनुसार काठमाण्डौ र आसपास क्षेत्रको मौसम अहिले सामान्य बदली भएको छ । यस आसपास क्षेत्रमा बेलुकीपख सामान्यदेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको छ । भारतको मध्यप्रदेश तथा आसपासको क्षेत्रमा न्यूनचापीय प्रणाली रहेको र त्यसै प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिएको छ ।

