विराटनगर । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारमा लागि पुर्याएको आधा घण्टा नपुग्दै एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–१९ मिलनचोककी ४० वर्षीया महिलाको उपचारका क्रममा बिहीबार साँझ ७:१० बजेतिर मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताए।
उनका अनुसार महिलामा उच्च रक्तचाप, हाइपोथाइराडिज्म, मोटोपना लगायतका स्वास्थ्य सम्बन्धी पुरानै समस्या थिए।
मृतक महिलामा विगत पाँच दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने लगायतका समस्या देखिएका थिए।
कोरोना संक्रमण पुष्टि भएको र समस्या झन् बढ्दै गएपछि उनलाई उपचारका लागि बिहीबार दिउँसो १ बजे कोशी अस्पताल ल्याइएको थियो।
अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिए पनि स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि साँझ ६:४५ बजेतिर थप उपचारका लागि कोभिड उपचार केन्द्रमा पठाइएको अस्पतालका आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवले बताए। तर आइसोलेसनबाट कोभिड उपचार केन्द्रमा थप उपचारका लागि पठाएको आधा घण्टा पुग्न नपाउँदै महिलाको मृत्यु भएको यादवको भनाइ छ।
योसंगै विराटनगरमा मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेको छ।

