
झापा,३ असोज । नायक राजेश हमालले लकडाउनका कारण समस्यामा परेका ११३ जना चलचित्र प्राविधिकहरुलाई ५ लाख ६५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
चलचित्र प्राविधिक संघद्धारा काठमाण्डौमा आयोजित एक कार्यक्रममा नायक राजेश हमालले ११३ जना प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ प्रदान गरेको संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नायक राजेश हमालले प्राविधिकहरु आफ्ना लागि सधै नै उच्च स्थानमा रहेको बताए । उनले यो रकम ठूलो नभएपनि समस्यामा परेको समयमा केही सहयोग हुने अपेक्षा गरे । उनले, भोली समस्या बढ्दै गएको अवस्थामा अझै ठूलो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
नायक हमालले देश बाहिर रहेका केही आफ्ना साथीहरुले समेत यसमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । नायक हमालले समस्यामा परेको समयमा आफूहरुलाई संझिएको भन्दै प्राविधिकहरुले खुशी व्यक्त गरेका थिए ।


