काठमाडाै, ७ असाेज । नेपाल चीन सीमा विवाद सुरू भएको छ । नेपाली भूभागमा चिनियाँ सेनाले भवनहरू बनाएकाे नेपालकाे दावी छ ।
नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चीनियाँ सेनाले बनाएको भवनहरू नक्सामा हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको भूभागमा देखिन्छ ।

सोहि विषयमा हुम्ला सदरमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले नेपाली भूमिमा नभएर आफ्नै भूभागमा भवनहरू बनाएको दाबी गरेको अध्ययन टोलीका एक सदस्यले बताएका छन् ।
चिनियाँ सेनाले उक्त भवनहरू रहेको स्थान आफ्नो भूमाग भएको बताएपछि उक्त विषयमा दुई पक्षबीच वार्ता गर्ने अवस्था नभएको अध्ययन टोलीमा सहभागी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए।
अध्यक्ष तामाङका अनुसार विगतमा अहिले भवन बनेको ठाउँभन्दा परसम्म गएर नेपाली श्रमिकहरूले बाटो बनाएको उनको भनाइ छ।
सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि गएको थियो।
त्यहाँ हराइरहेको सीमा स्तम्भ पहिचान गर्नुपर्ने र उक्त क्षेत्रमा देखिएको सीमा विवाद कूटनीतिक ढङ्गले हल गर्नुपर्ने सुझाव बताएका छन् ।स्थलगत अध्ययन गर्न उक्त टोली हुम्ला सदरमुकाम सिमीकोटबाट चिनियाँ पक्षले भवन बनाएको भनिएको स्थानमा आइतवार पुगेको थियो।
त्यस बेला त्यहाँ चिनियाँ प्रहरीहरू बसिरहेको पाइएको र उनीहरूले नेपाली पक्ष आएको भन्दै चिनियाँ सेनालाई बोलाएको गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिए।
“भवनहरू बनाएकोभन्दा एक किलोमिटरवर नेपालतर्फको क्षेत्रको भूभाग हाम्रो हो भन्ने चिनियाँ पक्षको भनाइ आयो। हाम्रो ११ नम्बरको पिलर हालसम्म नभेटिएकाले हामीलाई यकिन गर्न गाह्रो भयो। लाप्चा लेकमा रहेको हाम्रो १२ नम्बरको पिलरलाई आधार मान्ने हो भने त्यो भवनहरू बनेको ठाउँ हाम्रै भूमिमा पर्ने देखिन्छ।”
अहिले भवन बनेका भन्दा साढे दुई किलोमिटर उत्तरतिर आफूहरूले बाटो खनेको भन्दै उपभोगका हिसाबले उक्त भूमि नेपाली भएको उनले बताए।
स्राेतः बिबिसी

