मेचीनगर,७ असोज । प्रेस क्लब मेचीनगरको पहिलो अधिवेशन यही असोज १० गते शनिबार हुने भएको छ। प्रेस क्लब मेचीनगर समितिको असोज ५ गते बसेको बैठकले काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा अधिवेशन गर्ने निर्णय गरेको हो ।
मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा रहेको क्लब तीन महिनाअघि एकीकरण भएको थियो। तत्कालीन मेची बोर्डर जर्नालिष्ट एसोसिएशन र प्रेस क्लब मेचीनगरबीचको एकीकरण भेलाले असोज १३ गतेभित्र अधिवेशन गर्ने म्याण्डेट दिएको थियो । सोही अनुरुप प्रेस क्लबको अधिवेशन सम्पन्न गर्ने तयारीमा लागिएको क्लबका सचिव झुलन रेग्मीले बताए।
प्रेस क्लबका संयोजक मुक्ति पौडेलको अध्यक्षतामा बसेको बैठकले पुरानो सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान गर्नेगरी कानूनी प्रक्रियासमेत अघि बढाइएको सहसंयोजक ज्ञानेन्द्र निरौलाले बताए।

