adv

बलात्कार सम्बन्धी कानून संशोधन गर्नुपर्नेमा झापाका अगुवा महिलाहरुको जोड

बिर्तामोड, १३ असोज । झापाका विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरु तथा  महिला अधिकारकर्मीहरुले बलात्कारका घटनामा संलग्न पुरुषलाई कानुन संशोधन गरेर भए पनि मृत्युदण्डको सजाय दिइनुपर्ने कुरामाजोड दिएका छन् ।

बिर्तामोडमा मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सहभागी उनीहरुले बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई केही वर्षको सजाय वा आजीवन कारावास सजायले नपुग्ने उनीहरुको धारणा थियो ।

संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्छ भनेर आवाज उठाएरहेका बेला यसलाई कानुन बनाउनुपर्ने उनीहरुको एक आवाज थियो। महिला हिंसा र बलात्कारका घटनामा कमि आउनुको सट्टा बृद्धि हुँदै जानुमा कानुन नै फितलो भएको उनीहरुको निष्कर्ष थियो।

कार्यक्रममा नेपाल महिला संघ झापाकी अध्यक्ष सुशीला ढकालले बलात्कारी राख्ने जेल पनि अलग्गै हुनुपर्ने बताइन्। पैसा र शक्तिको आडमा अपराधीहरुले सजाय नपाउनु विडम्बना भएको उनको भनाइ थियो।

त्यस्तै, कानुन व्यवसायी कोपिला खड्का बस्नेतले मृत्युदण्डको व्यवस्था गरिएका देशमा पनि बलात्कारका घटनामा कमि नआएकाले मानिसको आचरण र व्यवहारमै परिवर्तन गर्न जरुरी रहेको बताइन्। उनले समास्याको जड पहिचान गरेर सजाय उल्लेख गर्नुपर्ने जिकिर गरिन् ।
राप्रपा नेतृ रञ्जु प्याकुरेलले बलात्कारका घटना हुनुको कारणको गहिरो अध्ययन आवश्यक रहेको बताइन् । राज्य यस विषयमा सम्वेदनशील हुनुपर्नेमा उनको जोड थियो ।

त्यस्तै, अन्तर पार्टी महिला सञ्जाल झापाकी पूर्वअध्यक्ष सरु न्यौपानेले भइरहेको कानुनको प्रभावकारी कार्यान्वयन भए मात्र पनि बलात्कारका घटनामा कमि आउने विचार राखिन् ।

कार्यक्रममा बोल्दै नारी संचारगृह झापाकी अध्यक्ष अम्बिका भण्डारीले बलात्कारीलाई मृत्यूदण्डको सजाय उपयुक्त भएको बताउँदै तर कानुन ल्याउनुभन्दा पहिला अन्तर्राष्र्टिय सन्धिमा परिमार्जन गर्नुपर्नेमा जोड दिनुपर्ने बताईन् ।

मेची महाकाली बुहारी संयुक्त आवाजकी झापा सम्योजक शिखा खड्काले बलात्कारीलाई फाँसीको सजायको व्यवस्था हुनुपर्ने बताइन् । उनले त्यसका लागि सरकारले विद्यमान कानुन संशोधन गर्न आवश्यक रहेको उल्लेख गरिन् । कार्यक्रमको सहजीकरण क्लबका अध्यक्ष शेखर सेढाईंले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु