झापा । झापाको बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना संक्रमणका कारण तिहारमा नगरभित्र देउसी भैलो बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिका संयोजक तथा नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
दीपावली, छैठ, नेपाल सम्बत् जस्ता पर्वमा भेला हुने, देउसी भैलो खेल्ने, नाचगान जस्ता सबै क्रियाकलापहरु बन्द गर्ने निर्णय भएको नगर प्रमुख सिवाकोटीले बताए ।
सबै पक्षसँग समन्वय गरी चाडवाडलाई एकाघरमा मात्र सिमित गरी मनाउने र नगरभित्र सञ्चालित होटल, रेष्टुरेन्ट राती ८ः०० बजे पछि बन्द गर्ने निर्णय भएको छ ।
यस्तो छ निर्णय
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको प्रकोप बिर्तामोड नगर क्षेत्रभित्र दिनानुदिन बृद्धि भई मानवीय क्षति समेत हुन थालेकाले सोलाई मध्यनगर राख्दै रोकथाम र निणन्त्रका लागि २०७७ साल कार्तिक २१ गते शुक्रबार बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिका संयोजक तथा नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरुः
१. कोभिड–१९ रोकथाम सम्बन्धी जन चेतनाकालागि सबै वडा र टोलहरुमा व्यापक प्रचार प्रसार गर्ने । सो को व्यवस्थापन सम्बन्धित वडाले गर्ने ।
२. आउँदै गरेको दिपावली, छैठ, नेपाल सम्बत् जस्ता पर्वहरुमा भेला हुने, देउसी भैलो खेल्ने, नाचगान जस्ता सबै क्रियाकलापहरु बन्द गर्ने । सबै पक्षसँग समन्वय गरी चाडवाडलाई एकाघरमा मात्र सिमित गरी मनाउने साथै नगर भित्र संचालित होटल, रेष्टुरेन्ट राती ८ः०० बजे पश्चात बन्द गर्ने ।
३. नगरभित्रका व्यापार व्यवसाय र बजारहरु पूर्णरुपमा नेपाल सरकारद्धारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संचालन गर्ने गराउने । नगर प्रमुख, उप–प्रमुखज्यू समेतको टोलीबाट बजारको अनुगमन गर्ने ।
४. नगरभित्र रहेका यातायात कार्यालय, विद्युत प्राधिकरण जस्ता भिडभाड हुने कार्यलयबाट दिइने सेवालाई व्यवस्थित गर्न÷गराउन नगर प्रमुखज्यूको नेतृत्वमा सम्बन्धित कार्यालयको अनुगमन गरि व्यवस्थापनको प्रवन्ध गर्ने गराउने ।
५. कोभिड–१९ को लक्षणसँग मिल्दो जुल्दो लक्षण भई घरमा नै पि.सि.आर. नगरी बसेका सबै व्यक्तिहरुलाई पहिचान गरी पि.सि.आरको दायरालाई बृद्धि गर्ने । विरामी पहिचानको लागि वडा मार्फत टोल विकास संस्था परिचालन गर्ने । निःशुल्क पि.सि.आर.टेस्टका ेलागि स्रोतको पहिचान गर्ने ।
६. हालको नगरको वस्तुगत स्थितिबारे जिल्ला कोरोना समन्वय समितिमा जानकारी दिदै झापा जिल्लालाई नै कोरोना संक्रमणको रोकथाम गर्न लकडाउन वा अन्य उपयुक्त विकल्प सहितको कार्यक्रम ल्याउन अनुरोध गर्ने ।
७. होम आइसोलेसनमा रहेका विराममीहरुको नियमित अवस्थाबारे जानकारी लिने र उचित परामर्श र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने । जनप्रतिनिधिहरुले त्यस्ता व्यक्तिहरुको मनोवल बृद्धि गर्न प्रोत्साहन गर्ने ।
८. मृतकको दाह संस्कारका लागि अत्याधिक मानिस भेला भई मलामी जाने परीपाटीलाई कम गर्न सबैमा आव्हान गर्ने । साथै समवेदना प्रकट गर्न जाँदा समेत सामाजिक दुरी तथा सवारी मापदण्ड कायम गरी गर्न सबैमा अनुरोध गर्ने ।
९. नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट दिइने सेवालाई थप स्वास्थ्य मापदण्डभित्र रही प्रवाह गर्ने । हाललाई राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम स्थगन गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालय भद्रपुर, झापामा पठाउने ।
१०. नगरपालिकाबाट दिइने सेवालाई आलोपलो मिलाई निम्नानुसार सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने
आइतबार – वडा नं. १ र वडा नं. २
सोमबार – वडा नं. ३ र वडा नं. ४
मंगलबार – वडा नं. ५ र वडा नं. ६
बुधबार – वडा नं. ७ र वडा नं ८
विहिबार – वडा नं. ९ र वडा नं. १०
११. नगरभित्र स्थापना भएको ५ वेडको अक्सिजन सहितको आइसोलेसन अस्पतालमा वेड संख्या थप्ने व्यवस्था मिलाई साथै बिर्तामोड नगरभित्र रहेका निजी अस्पतालहरुसँग समन्वय र सहयकार्य गरी कोभिडका विरामीहरुका लागि छुटै भेन्टिलेटर सहितकहो आइ.सि.यु संचालन गर्न पहल गर्ने ।

