
झापा । नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि शक्ति प्रदर्शन गरेको छ । वर्तमान सरकारको सर्वसत्तावादविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णयअनुसार कांग्रेस झापाका कार्यकर्ता सडकमा उतारेको हो ।
झापाको सुरुङ्गाबाट सुरु भएको विरोध ¥याली बिर्तामोड आएर कोणसभामा परिणत भएको थियो । सभालाई कांग्रेसका सह–महामन्त्री डा प्रकाश शरण महतले सम्बोधन गरेका थिए । उनले कम्युनिष्ट सरकार जनताको सरकार बन्न नसकेको आरोप लगाए ।
वर्तमान सरकार भष्ट्रचारको पर्यायवाची बनेको आरोप लगाउँदै नेता महतले जनताको चहाना पूरा गर्न नसेकेको बताए । ‘हरेक लगानीमा सरकार मोलतोल गरिरहेको छ’, महतले भने, ‘कहिले ओम्नी काण्ड कहिले के काण्ड सुनिन्छ, यो सरकार भष्ट्रचारको पर्याय नै बनेको छ ।’
सरकारका विरुद्धमा यो आन्दोलन प्रारम्भ मात्रै भएको भन्दै अब छिट्टै सडक र सदन दुई ठाउँबाटै आन्दोलन सुरु गर्ने बताउनुभयो । उहाँले तत्काल संसद वैठकको माग गर्दै जनजीविका, भष्ट्रचार र राष्ट्रिय मुद्धामा छलफल गर्न सरकारलाई आग्रह गरे ।
सोही सभामा कांग्रेस नेता केशवकुमार बुढाथोकीले कम्युनिष्ट सरकारले संविधानको संरक्षण गर्न नसकेको भन्दै अब संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । उनले राप्रपाको आन्दोलनलाई लक्षित गर्दै मुलुकमा अर्को कुनै व्यवस्थाको कल्पना गर्न नसकिने धारणा राखे ।

