इलाम । इलामको माङसेबुङ–६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा पहिलोपटक वान्तावा भाषाको पठनपाठन हुने भएको छ । यसका लागि विद्यालयले शिक्षक समेत छनोट गरेको छ ।
माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा भाषा शिक्षक नियुक्त गरिएको जनाइएको छ । वान्तवा भाषा अध्यापनले भाषा संरक्षणमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।
जिल्लामै पहिलोपटक प्रतिस्पर्धाबाट भाषा शिक्षक छनोट गरिएको हो । सो बान्तावा भाषा शिक्षकको लागि शान्ताकला राई छनोट भएकी छिन् । वैकल्पिक शिक्षकको रूपमा गुञ्जकुमार राई छनौट भएका छन् । लिखित र मौखिक परीक्षा लिई छनोट गरिएका ४ जना प्रतिस्पर्धी उम्मेदवारहरूमध्ये शान्तकला छनौटमा परेकी हुन् ।
माङसेबुङ गाउँपालिकाको यस आर्थिक वर्षको बजेट कार्यक्रमबाट विद्यालयलाई अनुदान दिई भाषा शिक्षक नियुक्त गरिएको हो । नियुक्त शिक्षकलाई गाउँपालिकाको अनुदानबाट प्रा.वि. तहको तलबभत्ता दिइनेछ ।

