काठमाडौँ। नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।
मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।
यस्तै निर्देशक समितिले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए।
युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उनले बताए।
बैठकले पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वरेन्टिनमा बसी जाँच गरेपछि मात्र घर गन्तब्य जान पनि अनुरोध गरेको छ।
यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहेकाहरुले अनिवार्य रुपमा १० दिन होटल क्वरेन्टिनमा बसी परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ।