adv

ओली कदम संवैधानिक कु नै हो : चेम्जोङ

कमन देवान,बिर्तामोड, २९ पुष । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले प्रधानमन्त्री केपी शर्मा ओलीको पुष ५ गतेको कदमलाई संवैधानिक कु भनेका छन् ।

बुधबार झापाको बिर्तामोडमा आयोजित विरोधसभालाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका चेम्जोङले ओली कदमलाई संवैधानिक कु भनेका हुन् ।
उनले भने -“संवैधानिक रूपमा आएका प्रधानमन्त्रीले संविधानमै नरहेको अधिकार प्रयोग गरेर संसद् बिघटन गर्नु संवैधानिक कु नै हो ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध पटक-पटकका ओली कदमहरुलाई हेर्दा उनको पछिल्लो कदम तोकिएकै मितिमा निर्वाचन गराउनु नरहेको चेम्जोङले आरोप लगाए ।
खराब मनसायबाट प्रेरित ओली कदम समावेशीतामाथिको प्रहार भएको ठहर गर्दै उनले यो लोकतन्त्र र अग्रगमनमाथिको आक्रमण भएको टिप्पणी गरे ।

भारतीय मिडियालाई बोलाएर दिएको अन्तर्वार्तालाई लक्षित गर्दै चेम्जोङले भने -” विदेशी मिडिया बोलाएर ओलीले जसरी बृफिङ गरेका छन् त्यसले पनि प्रतिगमनतर्फको योजनावद्ध तयारी चलिर्शेको पुष्टि हुन्छ ।”

संविधानलाई ट्र्याक आउट गर्ने ओलीको उद्देश्यलाई सफल बन्न नदिन सडक बाहेक अर्को विकल्प नरहेको उनले स्पष्ट पारे ।
पार्टीका अर्का कार्यकारिणी सदस्य डम्बर खतिवडाले प्रधानमन्त्री ओली अबको तीन महिनामा पतन हुने ठोकुवा गरे । “ओली चाहे निरंकुशताको बाटो हिँडुन्, संसद् पुनर्स्थापनाको बाटो हिँडुन् वा निर्वाचनकै बाटो हिँडुन् तीन महिनाभित्र समाप्त पार्छौं”, उनले भने ।
आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट जितेर देखाउन चुनौती दिँदै खतिवडाले ओलीको हालत राप्रपाको हुने जिकिर गरे ।

जिब्रो बाहेक ओलीको शरीरका अन्य अङ्ग नचल्ने जिकिर गर्दै उनले त्यो जिब्रो पनि झुट बोल्न मात्रै प्रयोग हुनु दुखद् भएको बताए ।
राष्ट्रपति विध्यादेवी भन्डारीतर्फ इङ्गित गर्दै खतिवडाले सहिदहरुको रगतबाट आएको गणतन्त्र र गणतन्त्रले स्थापित गरेको राष्ट्रपति संस्थाले जनभावना विरुद्ध निर्णय गर्दै हिँड्दा अग्रगामी र प्रगतिशील नेपालीको चित्त दुख्ने बताए ।

अर्का वक्ता मनिस सुमनले ओलीलाई सत्ताच्युत नगरेसम्म, विध्या भण्डारीलाई महाअभियोग लगाएर नहटाएसम्मा र बाङ्गोटिङ्गो संविधान नसच्च्याएसम्म जसपाको आन्दोलन जारी रहने दावी गरे ।
उनले संसद् बिघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको भन्दै

न्यायप्रेमी जनताको पक्षमा फैसला आउनेमा विश्वस्त रहेको बताए । उनले भने -“दवाव दिन खोजेको होइन । न्यायालयप्रति आगाध आस्था छ, त्यसैले चोलेन्द्र शमशेरहरुले सेटिङमा फैसला दिन्छन् भन्ने हामीलाई लाग्दैन ।”

ओलीप्रति आक्रोशित मुद्रामा देखिएका सुमनले सम्बोधनका क्रममा पद्धति नै खान खोजेको आरोप लगाउँदै कुपात्र, बहुला र बहुलठ्ठीको संज्ञा दिए ।

जसपाले केन्द्रीय विरोध कार्यक्रम अन्तर्गत दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । जस अन्तर्गत प्रदेश १ को बिराटनगरमा पुष २५ गते नै विरोधसभा सम्पन्न गरिसकेको छ । उक्त कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायतले सम्बोधन गरेका थिए ।

आगामी माघ ३ गते धरानमा हुने विरोधसभालाई पार्टीका वरिष्ठ नेता अशोक राई लगायतले सम्बोधन गर्ने छन् ।

पुष ५ गतेको संसद् विघटन विरुद्ध जसपाले गत पुष १०, ११ र १२ गते पहिलो चरणको आन्दोलन सम्पन्न गरिसकेको छ भने पुष २३ देखि माघ ७ गतेसम्म दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु