adv

बारामा एक महिलाको आफ्नै घरमा हत्या

काठमाडौं । बारामा एक महिलाको आफ्नै घरमा हत्या भएको छ । महागढीमाई नगरपालिका १ का बैजनाथ कुशवाहाकी श्रीमती ४८ वर्षीया कान्ति देवीको आइतबार राति आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

कान्ति देवीको टाउको र कन्चटमा धारिलो हतियारले प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । मिश्रका अनुसार मृतक महिलाका श्रीमान् बैजनाथले आइतबार राति करिब ९ बजे खाना खाएर आफु टहल्न घर बाहिर निस्किएको र आधा घण्टापछि घरभित्र पस्दा श्रीमती मृत अवस्थामा भेटिएपछि छिमेकीलाई खबर गरेका थिए ।

त्यसपछि बैजनाथले प्रहरीलाई पनि खबर गरेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

कुशवाहा दम्पति दुइ जना मात्रै घरमा बस्दै आएका थिए । उनीहरुका तीन छोरा र एक छोरी अध्ययन र जागिरका लागि काठमाडौँमा छन् ।

घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए । महिलाको टाउको र कन्चटमा धारिलो हतियारले हानेर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुर ल्याएर थप अनुसन्धान थालिएको उपरीक्षक मिश्रले जानकारी दिए । महिलाको शव पोष्टमार्टमका लागि सोमबार बिहान कलैयास्थित जिल्ला अस्पताल पठाइएको उनले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु