
दमक, २७ माघ । जनता समाजवादी पार्टीका केन्द्रीय नेता महेन्द्र राय यादवले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विध्यादेवी भन्डारीबाट सिर्जित प्रतिगमनको स्थितिलाई रोक्न संयुक्त आन्दोलन आवश्यक रहेको बताएका छन् ।
सोमबार झापाको दमकमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका नेता यादवले पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
उनले भने -“अब फागुन पहिलो हप्ताभित्र जसपा, कांग्रेस र नेकपा (माधव-प्रचण्ड समूह) को संयुक्त मोर्चा गठन गरेर प्रतिगमन विरुद्ध सशक्त आन्दोलन हुन्छ ।”
देशलाई घात र संविधानलाई आघात गर्ने ओली कदमका कारण जनताले प्राप्त गरेका अधिकार गुम्ने खतरा रहेको भन्दै पूर्व मन्त्री समेत रहेका यादवले दलहरुले नभइ जनताको आन्दोलनबाट गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीता लगायत उपलव्धि प्राप्त भएको भन्दै यसको रक्षाको लागि पनि जनता नै जागरुक हुनुपर्ने जिकिर गरे ।

अर्को एक प्रसङ्गमा यादवले ओलीले दल विभाजन गर्न ल्याएको अध्यादेशलाई असफल सिद्ध गर्दै समाजवादी पार्टी र राजपा एकता भइ जसपा एकता भएको दावी गरे ।
पत्रकारहरुले जसपाको प्रदेश नम्बर १ मा दुई वटा प्रदेश समिति रहेकोमा कुन चाहिँ आधिकारिक हो ? भनी राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने -“राजपा तर्फ प्रदेश १ लगायत सातै प्रदेशमा समिति थिएन । कसैले रातौंरात प्रदेश समिति गठन गरेको भए त्यो अनैतिक कार्य हो । अनैतिक कार्यले पार्टी निर्माण हुँदैन । त्यस्तो कार्यलाई मान्यता दिन सकिँदैन । बैकल्पिक शक्ति निर्माण जालझेल गरेर बन्दैन ।” तहगत पार्टी समायोजन कार्यलाई इमान्दारितापूर्वक सम्पन्न गर्नुपर्ने उनको भनाई थियो ।
पत्रकार सम्मेलनमा बोल्दै जसपा प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले आफूहरु प्रतिगमन विरुद्ध जन जागरण अभियान सहित पार्टी समायोजन र रूपान्तरण कार्यमा जुटेको बताए ।
प्रदेश १ मा छिट्टै तहगत पार्टी समितिहरु समायोजन र रूपन्तरण गर्ने भन्दै चाम्लिङले मतका आधारमा जसपा तेस्रो शक्ति भए पनि अग्रगामी मुद्दाका आधारमा पहिलो राजनीतिक शक्ति भएको दावी गरे ।

जसपा झापा क्षेत्र नं ५ क्षेत्रीय समितिपार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रीय नेताहरु पर्शुराम बस्नेत, दिपक मेन्याङ्बो, हरीदेवी राई, उमेश थापा, दिनेश मेहेता लगायतले प्रतिगमनलाई परास्त गर्न पार्टीले विभिन्न चरणमा आन्दोलन गरिरहेको भन्दै पार्टी समायोजन कार्यलाई पनि सम्पन्न गर्दै लगिने बताएका थिए ।
ओममाया आङ्देम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दिपक न्यौपानेको सन्चालन, खेम दाहालको स्वागत र हिरालाल राजवंशीले धन्यवाद ज्ञापन गरेका थिए ।

