
माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित वडास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि वडा नं. ६ ले चुमेको छ ।

बुधबार भएको फाइनल खेलमा वडा नं. २ लाई सुन्यका विरुद्ध १ गोल गर्दै डिफेन्डिङ च्याम्पियन समेत रहेको वडा नं. ६ ले जित हात पारेको हो ।

जितसँगै विजेता टिमले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे भने उपविजेता बनेको वडा नं. २ ले नगद २० हजार सहित ट्रफि, मेडर र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

प्रतियोगताको बेस्ट गोलकिपर वडा नं. ६ का सविना राई, बेस्ट प्लेयर वडा नं. २ का विनिता राई, बेस्ट डिफेन्डर वडा नं. ६ का लक्ष्मी राई, हाई स्कोर वडा नं. ६ का सुमिका राई र उदयीमान खेलाडी वडा नं. २ का सुनिता राई घोषित भएका थिए ।

घोषित सम्पूर्णलाई खेलाडीहरुलाई नगद सहित ट्रफि, मेडल प्रदान गरिएको थियो ।

गत बैशाख ४ गते देखि सुरु भएको सो प्रतियोगिताको समापन समारोह माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमको अध्यक्षतामा तथा प्रदेश नं. १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननिय राम बहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा माङसेबुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रदिप साम्पाङ, नेकपा माङसेबुङ गाउँ कमिति अध्यक्ष हेमन्त माक्रिहाङ, जसपा प्रदेश समिति कोषाध्यक्ष विनोद नेम्बाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नं. ६ स्थित पारुहाङ खेल मैदानमा भएको थियो ।






