मेचीनगर ।द गोर्खा मेमोरियल फाउन्डेसन नेपालले झापाको मेचीनगर नगरपालिकालाई अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
मेचीनगर नगरपालिका कार्यालयमा शुक्रवार आयोजित कार्यक्रमका बीच फाउन्डेसनका अध्यक्ष नगेन्द्र गुरुङले मेचीनगरका नगर प्रमुख विमल आचार्यलाई ३० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
सहयोग गरिएका सामग्रीहरुमा ३० थान अक्सिजन सिलिण्डर, पीपीइ, मास्क र सेनिटाइजर रहेका छन् । कोभिड(१९ संक्रमण भई अक्सिजन अभावका कारण कसैको मृत्यु नहोस् भन्ने उद्देश्यले बेलायतमा रहेका धनकिरण गुरुङको पहलमा स्वास्थ्य सहयोग जुटेको फाउन्डेसनले जनाएको छ ।
द गोर्खा मेमोरियल फ़ाउन्डेशन युकेको सहयोगमा प्राप्त सामग्री ६ लाख ४ हजार मूल्य बराबरको रहेको छ । द गोर्खा मेमोरियल फाउन्डेसन नेपालको संयोजनमा उक्त सागाग्रीहरू हस्तांतरण गरिएको फाउन्डेसनका महासचिव जगत गुरुङले बताए ।
फाउन्डेसनका अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षता तथा सन्तोष आचार्यको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा मेचीनगरकी उपप्रमुख मीना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, फाउन्डेसनका उपाध्यक्ष गंगालाल गुरुङ, महासचिव जगत गुरुङलगायतको उपस्थिति रहेको थियो ।
झापाको काँकरभिट्टा घर भई हाल बेलायतमा रहेका धनकिरण गुरुङले मेचीनगर लगायत अन्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन् ।