माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई रातह रकम उपलब्ध गराएकाे छ । गाउँपालिका क्षेत्र भित्रका ज्यान गुमाएका परिवारलाई गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको नेतृत्वमा कर्मचारीको समूहले मृतकको घरघरमा पुगेर ३५ हजारका दरले राहत उपलब्ध गराएको हाे ।
गाउँपालिकाले कोरोनाबाट हालसम्म सदस्य गुमाएका ६ जनाको परिवारलाई राहत उपलब्ध गराएको छ । मृतकका परिवारलाई अध्यक्ष इदिङ्गोले प्रतिपरिवार ३५ हजारका दरले २ लाख १० हजार रुपैयाँ उपलब्ध गराएको हो ।
कोरोनाबाट ज्यान गुमाएका माङसेबुङ ३ का बलकबहादुर लावती र कृष्णबहादुर लिम्बू, माङसेबुङ ५ का धनमाया साङपाङ राई, टेकबहादुर लावती र लक्ष्मीमाया लावती एवम् माङसेबुङ ६ का मनराज राईको परिवारलाई राहत उपलब्ध गराएको हो ।
माङसेबुङ गाउँपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन समितिको २५ असारको बैठकले गाउँपालिकाभित्र कोरोना संक्रमणबाट परिवार तथा सदस्य गुमाएको परिवारलाई राहतस्वरूप ३५ हजार उपलब्ध गराउने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार घरघरमा नै पुगेर राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष इदिङ्गोले बताए ।