adv

कोङकोङमा प्रतियोगिताको प्रथम बने झापाका बल बहादुर

झापा । विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन प्रतियोगितामा झापाका बल बहादुर राई प्रथम भएका छन् ।

झापाको कमल गाउँपालिका ६ का राई भच्र्युअल जुम माध्यमबाट ह सम्पन्न प्रतियोगितामा प्रथम भएका हुन् । फाइनलमा सहभागी अन्य १९ जनालाई पछि पार्दै उनले प्रथम पुरस्कार जितेका हुन् । यस्तै, प्रतियोगितामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ की पम्फा खालिङ राई दोस्रो भइन् भने ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ३ की जीतुमाया राई तेस्रो भइन् । झापाको कमल गाउँपालिका ५ की मनकुमारी राईले सान्त्वना पुरस्कार जितिन् ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना विजेताहरुले क्रमशः नगद १६ हजार, १० हजार, ८ हजार, ५ हजार र प्रमाण पत्र जितेको आयोजक किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय अध्यक्ष रामकर राईले जानकारी दिए । उनले भने,‘कोङकोङमा (विनायो) किराती समुदायको मौलिक बाजा हो । लापोन्मुख अवस्थामा पुगेको यो बाजालाई संरक्षण, सम्वद्र्धन एवं प्रर्वद्धन गर्न किरात राई साँस्कृतिक कलाकार संघले पहिलो पटक अनलाइनमार्फत प्रतियोगिता आयोजना गरेका हौं ।’

आयोजकले सहभागीहरुमध्ये दुई जना ज्येष्ठ नागरिकहरुलाई सम्मानसमेत गरेको जनाएको छ । ज्येष्ठ नागरिक सम्मान पाउनेहरुमा खोटाङको जन्तेढुंगा गाउँपालिका ६, ओडालेकी ९५ बर्षीया विष्णु माया राई र खोटाङकै हलेसीतुवाचुङ गाउँपालिका ५ की ९२ बर्षीया देशलक्ष्मी राई रहेकी छिन् । प्रतियोगितामा निर्णायकहरुमा संघको संस्थापक अध्यक्ष जितेन राई, निवर्तमान अध्यक्ष राजु एन राई र पावर्ती राई रहेका थिए । कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ गायक, संगीतकार तथा साहित्यकार गणेश रसिक रहेका थिए ।

प्रतियोगितामा विभिन्न देशबाट कुल ११९ जना सहभागी भएका थिए । विनायो किराती जातिको मौलिक बाजा भएपनि प्रतियोगितामा गैरकिरातीहरुले पनि सहभागिता जनाएका थिए । कुल सहभागीमध्ये दोस्रो चरणको लागि ५५ जना छानिएका थिए । उनीहरुमध्ये फाइनल चरणमा २० जना छनौट भएका थिए । प्रतियोगितामा प्रदेश १ की सांसद विनादेवी राईले पनि भाग लिएकी थिइन् । उनी दोस्रो चरणको लागि छनौट भएपनि उत्कृष्ट २० मा भने पर्न असफल भएकी थिइन् ।

आयोजक संस्थाका अध्यक्ष राईका अनुसार लोपोन्मुख रहेको किरातीहरुको मौलिक बाजाको संरक्षण गर्दै पुर्खाको नासो नयाँ पुस्तालाई हस्तान्तरण गर्न प्रतियोगिता आयोजना गरिएको हो । उनले यो बाजाको धुनलाई डकुमेन्टेसन गर्न र बाजाको प्याटेन राइट अधिकार लिने अभियानको लागि पनि यो कार्यक्रम गरिएको जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु