झापा, ७ साउन । जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले पसल, होटल तथा रेष्टुरेन्ट सञ्चालनको समयवधि बढाएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको उक्त बैठकले जिल्लामा होटल तथा रेष्टुरेन्ट सञ्चालनको समयवधि पनि बढाएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । होटल तथा रेष्टुरेन्ट साँझ ७ बजेसम्म सञ्चालनको निर्णय डीसीसीएमसीको बैठकले गरेको छ ।
७ बजेपछि भने टेक अेव सेवा मात्र सञ्चालन गर्न पाइने निर्णय गरिएको छ । यसअघि होटल तथा रेष्टुरेन्ट सञ्चालनको समयअवधि ५ बजेसम्म तोकिएको थियो ।
बैठकले सबैप्रकारका सार्वजनिक तथा निजी सवारी साधानको हकमा लगाएको जोरविजोर प्रणाली हटाएको छ । अव स्वास्थ्य मापदण्ड पालना गरी सबैप्रकारका सवारी साधान सञ्चालन गर्न पाइने छ । यसअघिको बैठकले अत्यावश्यकसेवाहरु बाहेकका सबै प्रकारका निजी सवारी साधन, सिटीसफारी, अटोरिक्सा जोरविजोर प्रणाली अन्तरगत सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।
डीसीसीएमसीको बैठकले निषेधाज्ञा खुकुलो बनाएपनि पुर्ण रुपमा भने खुल्ला गरेको छैन । बैठकले आगामी असार १४ गतेसम्मका लागि निषेधाज्ञा जारी राखेको छ । सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर, जीमखानालगायत भने बन्द नै रहने निर्णय डीसीसीएमसीले गरेको छ ।