दमक, २३ साउन ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)–२०७७ र २०७८ बाट आठ जना पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ ।
त्यस्तै फोनिजले आफ्नो २२औं स्थापना दिवसको अवसरमा फोनिज एवार्डसहित फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८ पनि प्रदान गर्ने भएको हो ।
सोही अवसरमा फोनिज यूके शाखाले प्रदान गर्ने ‘फोनिज यूके पत्रकारिता सम्मान र पुरस्कार’ प्रदान पनि वितरण गरिने फोनिज महासचिव मनोज घर्तीमगरबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
गत वर्ष कोभिड १९ का कारण फोनिज अवार्ड बारे निर्णय हुन नसकेकोले यस पटक दुवै वर्षका लागि विभिन्न विधामा ८ जना पत्रकार छनौट गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
फोनिज अवार्ड २०७७ बाट छापातर्फ गोरखापत्र शेर्पा भाषा पृष्ट संयोजक आङदावा शेर्पा (काठमाडौं), रेडियोतर्फ जलजला एफएमका मौसम रोकामगर (रोल्पा), टेलिभिजनतर्फ इन्डिजिनियस टेलिभिजनका कुमार यात्रु तामाङ (काठमाडौं) र अनलाइनतर्फ स्वतन्त्र पत्रकार राजकुमार दिक्पाल (पोर्चुगल) पुरस्कृत हुने भएका छन् ।
त्यस्तै छापातर्फ स्वतन्त्र पत्रकार तिलक पुन (कास्की), रेडियोतर्फ रेडियो नेपालकी रचना श्रेष्ठ (काठमाडौं), टेलिभिजनतर्फ नेपाल टेलिभिजनमा कार्यरत इन्द्रजीत मुखिया (झापा) र अनलाइनतर्फ झिल्को डटकमका भवानी बराल (सुनसरी) पुरस्कृत हुने भएका छन् ।
फोनिज सङ्घीय समितिले यसै वर्षदेखि स्थापना गरेको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’बाट कैलालीबाट प्रकाशित हुँदै आएको थारु भाषाको पत्रिका पहुरा दैनिक र काठमाडौंबाट प्रकाशित हुने लिम्बू भाषाको पत्रिका तान्छोपा मासिक संयुक्त रूपमा सम्मानित हुने भएका छन् ।
फोनिज अवार्ड र फोनिज मातृभाषा पत्रकारिता सम्मानको राशी जनही २० हजार नगदसहित प्रमाण–पत्र, सम्मान–पत्र रहने छ ।