adv

कदमले ‘तिम्रो आँखामा खसेको साँझ’ मञ्चन गर्दै

सजन राई, दमक, २० असोज । रोट्राक्ट क्लब अफ दमकसँगको सहकार्यमा कदम थिएटर दमकले लैङ्गिक अल्पसंख्यकको समस्यामा आधारित नाटक ‘तिम्रो आँखामा खसेको साँझ’ मञ्चन गर्दैछ ।


नाट्य संस्कृति विकास र अल्पसंख्यक अधिकारका निम्ति पैरवी गर्ने उद्देश्य अनुरूप कदमले नाटक मञ्चन गर्न लागेको हो । नाटक मञ्चनका लागि आवश्यक तयारी सकिएको कदमले जनाएको छ ।

असोज २२ गतेबाट मञ्चन हुने नाटक २५ गतेसम्म हरेक दिन दिउँसो २ बजे र साँझ ५ बजे गरी दुई शो देखाइने कदम थिएटरका सचिव कमन देवानले जानकारी दिए । देवानका अनुसार हाल कदम थिएटरको दमक ९ स्थित अस्थायी नाटक घरमा नाटक मञ्चन हुनेछ । कदमले प्रदेश सरकारको सहयोगमा बहुबर्षे योजना अन्तर्गत सेउपाखा बहुसाँस्कृतिक नाटक घरको आधारभूत संरचना निर्माण सकेको छ ।

नाटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक किसोरीले भोग्नुपरेको कथामा आधारित रहेको लेखक प्रकाश शर्मा अधिकारीले जानकारी दिए । दर्शकलाई फरक विषयमा सोच्न लगाउने उद्देश्यले जटील विषय रोजिएको शर्माको भनाइ छ । उनले कोभिड संक्रमण जोखिमका कारण भर्चुवल फर्ममा पुगेको रङ्गमञ्च पुनः पुरानै अवस्थामा फर्कन थालेकोमा खुशी लागेको बताएका छन् ।

नाटकका परिकल्पनाकार तथा निर्देशक सागर खाती कामी भन्छन् –‘हामी लगभग प्रस्तुतिको अन्तिम तयारीको प्रयासमा छौं । नाट्य त जीवन जस्तै हो, पूर्ण तयारीको निश्चितता कहिल्यै हुन्न ।’

रोट्राक्ट क्लब अफ दमकका अध्यक्ष सपना लिम्बूका अनुसार लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई आजको समाजमा पनि निर्वाध र सहज रूपले बाँच्न सक्ने अवस्था नरहेको विषयलाई नाटकमार्फत उजागर गर्न लागिएको हो । यस मुद्दालाई सामाजिक तहमा उठान गरौँ भनेर नै आफूहरुले कदम थिएटर दमकसँग सहकार्य गरेको उनले बताइन् ।
सन् २००० को दशकपछि नेदरल्यान्ड, स्वीजरल्याण्ड लगायतका देशहरूमा लैङ्गिक अल्पसंख्यकहरूको अधिकारलाई प्रत्याभूत गरिए पनि अन्य देशहरूमा अझै वहसको विषय बन्न सकेको छैन ।

नेपालको संविधानमा यौनिक अल्पसंख्यकको अधिकारका बारेमा स्पष्ट केही उल्लेख छैन । विश्व स्वास्थ्य संगठनका अनुसार तेस्रो लिङ्गी तथा समालिङ्गी हुनु मानसिक समस्या हैन । सन् १९९० को दशकपछि यसबारे बहसहरु भए । त्यसपछि विश्व स्वास्थ्य संगठनले यसलाई प्राकृतिक तथा मानवीय स्वाभावको रूपमा व्याख्या गर्यो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु