नुवाकोट, १० कार्तिक । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं सङ्घीय महाधिवेशन आगामी माघ ७ र ८ गते सम्पन्न हुने भएको छ ।
महाधिवेशनस्थल बारे फोनिज सङ्घीय समिति सचिवालयले आवश्यक छलफल गरी टुङ्गो लगाउने गरी महाधिवेशनको मिति टुङ्गो लगाएको हो । फोनिज सङ्घीय समितिको बुधबार सम्पन्न सातौं पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
नुवाकोटको ककनीस्थित अन्तर्राष्ट्रिय स्काउट तालिम केन्द्रमा बसेको बैठकले आगामी मंसिर १५ गतेभित्र सदस्यता वितरण तथा नवीकरण सम्पन्न गर्ने, मंसिर २५ गतेभित्र जिल्ला अधिवेशनहरु र प्रवास शाखाहरुको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । त्यस्तै सात वटै प्रदेशका प्रादेशिक महाधिवेशनहरु पुष २४ गते सम्पन्न गर्ने तय भएको छ ।
फोनिज आन्दोलनलाई सशक्त बनाउन र सांगठानिक गतिविधिमा एकरूपता ल्याउन सदस्यता नवीकरण, जिल्ला, प्रवास शाखा अधिवेशन र प्रादेशिक महाधिवेशनहरुको मिति एकै दिन तोकिएको फोनिज अध्यक्ष डण्ड गुरुङले जानकारी दिए ।
सातौं सङ्घीय महाधिवेशन सम्पन्न गर्न फोनिज सङ्घीय समिति, संस्थागत सदस्य संस्थाका अध्यक्षहरु, सातै प्रदेश समितिका अध्यक्षहरु, महाधिवेशन सम्पन्न हुने प्रदेशको फोनिज प्रदेश समिति र फोनजका सबै जिल्ला शाखा अध्यक्षहरु सदस्य रहनेगरी महाधिवेशन मूल आयोजक समिति गठन गर्ने निर्णय भएको महासचिव मनोज घर्तीमगरले जानकारी दिएका छन् ।
बैठकमा फोनिज बागमती प्रदेश इन्चार्ज समीर बलामी, गण्डकी प्रदेश इन्चार्ज हुम तमु, लुम्बिनी प्रदेशका अध्यक्ष मिलन गाहाले आ–आफ्नो प्रदेशमा भएका फोनिज गतिविधि रिपोर्टिङ गरेका थिए । बैठकले सातै प्रदेशलाई आगामी एक हप्ताभित्र लिखित रिपोर्टिङ बुझाउन निर्देशन समेत गरेको छ ।
महाधिवेशन सम्पन्न गर्न आवश्यक विभिन्न उप–समिति गठन गर्ने अधिकार सङ्घीय समिति सचिवालयलाई दिइएको छ । फोनिजको देशभर ५४ जिल्ला शाखा र ६ वटा प्रवास शाखा र ८ वटा संस्थागत सदस्य समितिका रहेका छन् ।
फोनिजले जापान, मलेसिया, अमेरिका, दक्षिण कोरिया, दुबाई र बेलायतमा शाखा विस्तार गरिसकेको छ भने गुरुङ, लिम्बू, मगर, नेवार, राई, शेर्पा, तामाङ र थारू पत्रकार संघ संस्थागत सदस्य संस्थाका रूपमा फोनिजमा आवद्ध छन् ।