बिराटनगर, २४ कार्तिक । नवगठित प्रदेश नम्बर १ सरकारका मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने भएका छन् ।
हिजो मंगलबार धनकुटामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा मुख्यमन्त्री राईले कात्तिक ३० गने विश्वासको मत लिने गरी आफू अघि बढेको खुलासा गरेका हुन् ।
गत कार्तिक १६ गते गठबन्धन दलहरु काङ्ग्रेस, माओवादी केन्द्र, जसपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ४ मन्त्री र १ राज्यमन्त्री सहित राई नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री चयन भएका हुन् ।
सञ्चारकर्मीहरुले विश्वासको मत लिने बारे सोधेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले भने –‘हामी कात्तिक ३० गते विश्वासको मत लिन्छौं ।’
गठबन्धन सरकारको आगामी काम, कारबाही बारे छठपछि आवश्यक छलफल गरेर निचोडमा पुग्ने सत्ता गठबन्धनका एक मन्त्रीले जानकारी दिएका छन् ।
निवर्तमान मुख्यमन्त्री भीम आचार्यले संविधानको धारा १८८ (२) अनुसार विश्वासको मत नपाउने स्थिति भएपछि कार्तिक १५ गते राजीनामा दिएपछि राईले बहुमत सांसदहरुको समर्थनमा १६ गते मुख्यमन्त्री बनेका हुन् । उनले संविधानको धारा १८८ (१) अनुसार विश्वासको मत लिन लागेका हुन् ।