adv

जनगणनामा सही तथ्यांक भराउन आदिवासी जनजाति महासंघको अपील

दमक, २४ कार्तिक । नेपाल आदिवासी जनजाति महासंघले भोलि कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने १२औं राष्ट्रिय जनगणनामा सचेत भएर सहभागी हुन आह्वान गरेको छ ।

जनगणना सुरु हुने पूर्वसन्ध्यामा बुधबार अपील जारी गरेर महासंघले जनगणनामा आदिवासी जनजाति समुदायले आफ्नो जातीय पहिचान स्थापित हुनेगरी सहभागिता जनाउन अपील गरेको हो ।
१०÷१० वर्षमा आयोजना हुने राष्ट्रिय जनगणनाले देशको सम्पूर्ण जनसंख्या तथा बसोबासको स्थितिलाई सही र आधिकारिक तरिकाले चित्रण गर्नुपर्ने भन्दै महासंघले नेपालमा बसोबास गरिरहेका सबै जनसंख्याका भाषा, धर्म, सांस्कृतिक विशिष्टता, पृथक् जात तथा जातीय अवस्थालाई जनगणनामा न्यायोचित र विधिसम्मत् तरिकाले नसमेटिएसम्म कुनै पनि जनगणना तथ्यपरक र विज्ञानसम्मत् नहुने जिकिर गरेको हो ।

जारी अपीलमा भनिएको छ –‘त्यसैले हाम्रा जनसांख्यिक विशेषता जे हो, जनगणनामा त्यही देखिनुपर्छ । दशकौँदेखि आदिवासी जनजातिहरूले त्यही भन्दै आएका छन् । तर पनि विगतका जनगणनाको परिणाम हाम्रा लागि कतिपय अवस्थामा तथ्यांक होइन, मिथ्यांक साबित भयो । अब मिथ्यांक मात्र भन्दै हात बाँधेर बस्नु हुँदैन, बरू सही तथ्यांक बनाउन सक्रिय हुनु आवश्यक छ । यस पटकको जनगणनालाई आदिवासी जनजातिहरूले सही तरिकारले प्रयोग गर्दै हाम्रो सामाजिक संरचनाको वस्तुगत विशेषता र बहुलता अनुसारको जनगणना बनाऔँ । यसको लागि अबको पन्ध्र दिन जागरूक रहौँ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले संविधान र राज्यमा आदिवासी जनजातिको पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको भन्दै महासंघले राज्य व्यवहारतः आदिवासी जनजातिको भाषा, संस्कृति र धर्ममैत्री बनिनसकेको दावी गरेको छ । तथ्यगत, भरपर्दो र विश्वसनीय तथ्यांक निर्माण गर्न आदिवासी जनजातिहरू सजग रहन अति जरूरी रहेको जिकिर गर्दै उसले भनेको छ –‘जनगणनामा देखाउने हाम्रो सजगता र रचनात्मक हस्तक्षेपले मात्र एकल जात–जातीय, भाषिक, सांस्कृतिक र धार्मिक मिथ्यांकलाई सच्याउन महत्वपूर्ण भूमिका खेल्छ । अनि मात्र हामी पनि राज्यको तथ्याङ्कप्रति विश्वस्त हुने स्थिति बन्छ ।

महासंघले अपीलमार्फत जनगणनाका लागि घरघरमा आउने गणकहरुले लिने तथ्यांकका विषयामा मुख्य विभिन्न ८ वटा वुँदाहरुमा ध्यान दिन र सही विवरण उल्लेख गराउन आह्वान गरेको हो ।

यस्ता छन् मुख्य वुँदा
१) आ–आफ्नो जाति÷जनजातिको नाम, मातृभाषा, पुख्र्यौली भाषा, धर्म प्रष्ट रूपमा लेख्न लगाउने । आफ्नो मौलिक पहिचाजनित धर्म नभएको र आदिवासी जनजातिहरूमाथि औपनिवेशिक राज्यले निरन्तर जर्बजस्त रूपमा थोपरिएको धर्म ‘हिन्दू धर्म’ नलेखाउने । जाति, भाषा, धर्मबारे आफू सङ्लग्न÷सम्बन्धित आदिवासी जनजाति समुदायको प्रतिनिधिमूलक संगठन÷संस्थाले गरेको निर्णयअनुरूप लेखाउने । जाति, धर्म, मातृभाषाजस्ता महल दुरूस्त भरे÷नभरेको हेर्ने ।

२) परिवारका सङ्ख्या अक्सर घरैमा बसोबास गर्नेको सङ्ख्या लेखाउने, सँगसँगै परिवारमा अक्सर नबस्ने स्वदेशमा वा विदेशमा बसोबास गर्नेको संख्या खुलाउने ।

३) पूरा भएको उमेर, वैवाहिक स्थिति (१० वर्षभन्दा माथिकाले मात्र), पढ्न–लेख्न जानेको÷नजानेको (५ वर्षभन्दा माथिकाले मात्र), यदि जानेको भए कतिसम्म पास गरेको र कलेज, विश्वविद्यालय स्तर उत्तीर्ण गरेको भए कुन विषयमा कति भन्ने प्रष्टसँग लेखाउने ।

४) जन्मस्थान जिल्ला, देश कहाँ भएको, हालसम्म आमा (१५–४९ वर्षका महिलाले मात्र)को गर्भबाट जन्मेको, जीवित, मरेको र कुल छोराछोरी खुलाउने ।

५) घरपरिवारमा कोही शारीरिक अपाङ्गता भएमा कस्तो प्रकारको हो, प्रष्टसँग खुलाउने ।

६) घरपरिवारमा लैङ्गिक तथा यौनिक अल्पङ्ख्यक भएमा कस्तो प्रकारको हो, प्रष्टसँग खुलाउने ।

७) गएको एक वर्षमा कुनै आम्दानी हुने काम गरेको छ भने के काम गरेको, कहाँ गरेको, नगरेको भए के कारणले नगरेको खुलाउने ।

८) प्रश्नावली भरिरहँदा गणकले विभिन्न कोड भर्दा सही कोड भरेको–नभरेकोबारे यकिन गर्ने । गणकले पेन्सिल वा मेट्न मिल्ने सामग्रीले लेखेको छ भने डटपेन प्रयोग गर्न लगाउने, आदि ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु