adv

आज फाल्गुनन्द जयन्ति

दमक, २५ कार्तिक ।आज कार्तिक २५ गते बिहीबार । १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १३७औं जन्म जयन्ति ।

किरात धर्मका अनुयायीहरुले फाल्गुनन्दलाई महागुरूका रूपमा समेत पुज्ने गर्दछन् ।

भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति फाल्गुनन्दले दिएको योगदानको कदर गर्दै राज्यले २०५० सालमा उनको स्मरणमा हुलाक टिकट प्रकाशित गरेको थियो । लिङदेनलाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते १६औं राष्ट्रिय विभूतिको रूपमा घोषणा गरेको हो । फाल्गुनन्दको योगदनको कदर गर्दै उनका अनुयायीहरुले देशका विभिन्न स्थानहरुमा उनको प्रतिमा समेत स्थापना गरेर पूजा गर्ने गर्दछन् । उनका नाउँमा थुप्रै संघसंस्थाहरु खुलेका छन् भने अनेक स्थानहरुमा फाल्गुनन्द चोक नामाकरण गरिएको छ । पाँचथरको एउटा स्थानीय तहको नाम समेत २०७३ सालमा फाल्गुनन्द गाउँपालिका राखिएको छ ।

वि.सं. १९४२ कात्तिक २५ गते इलामको साविक इभाङ ५ चुक्चिनाम्बा (हाल माङसेबुङ गा.पा. २)मा जन्मेका फाल्गुनन्दको न्वारानको नाम नरध्वज लिङदेन थियो । उनी सिकिस्त विरामी परेपछि निको हुने जनविश्वासका आधारमा फलामका चुरा लगाइदिएपछि उनलाई फलामसिं भन्न थालियो । कालान्तरमा फलामसिं नाम नै फाल्गुनन्द भयो ।

१६ वर्षको कलिलै उमेरमा सैनिक जागिर खाएर पहिलो विश्वयुद्धको समयमा सन् १९१४ मा बर्मा पुगेका थिए फाल्गुनन्द । विश्वयुद्धमा मानव–मानवबीचको हत्या हिंसा र काटमार देखेपछि उनी सैन्य जागिर छाडेर स्वदेश फर्किएका थिए । नेपाल फर्किएपछि हाल पाँचथरको फिदिम नगरपालिका ३ चोकमागु लगायतका क्षेत्रमा लिम्बू समुदायमा देखिएका विचलनहरुलाई सुधार्न लिङ्देनले सचेतनाका काम गर्न थाले ।

उनले वि. स. १९८८ वैशाख २५ गते तत्कालीन १० लिम्वुवान १७ थुमका सामाजिक व्यक्तित्वहरुको भेला गराइ पाँचथर जिल्लाको फिदिमस्थित लव्रेकुटिमा धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति, कुरिति र कुसंस्कारको विरुद्ध १० बुँदे सत्य धर्म मुचुल्का तयार गरी लागू गराएका थिए । त्यसपछि उनलाई समाजसुधारकका रूपमा चिनिएको थियो ।

उनलाई भाषा, लिपि, संस्कार, संस्कृतिको संरक्षण गर्ने क्रममा तत्कालीन जहानीया राणा शासकले देशद्रोही करार गरेर नेल लगाई काठमाडौं पुर्याएका थिए । तर, उनी काठमाडौंबाट नेलमुक्त भएका थिए ।

वि. स. २००५ मा ६३ वर्षको उमेरमा पाँचथरको इम्वुङ गाविसको हाङयकमा उनको मृत्यु भएको थियो ।

किरात धर्मावलम्बीहरुले कार्तिक २५ गतेलाई फाल्गुनन्दको स्मृतिमा राष्ट्रिय विदा घोषणा गर्न माग गर्दै आएका छन् । तर स्थानीय तहका सरकारहरुले बाहेक उनीहरुको यो मागलाई प्रदेश सरकार र संघ सरकारले बेवास्ता गर्दै आएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु