दमक, १ माघ ।
नेपालमा २२ दिन अघि २ प्रतिशतमा रहेको कोरोना भाइरसको संक्रमण दर एक्कासी ३१ प्रतिशतमा पुगेको छ । पछिल्लो यो घटनाले नेपालमा कोरोना भाइरसको फैलावट तिव्रगरी बढिरहेको स्पष्ट हुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क भन्छ –पुष १९ गते २ प्रतिशतमा रहेको संक्रमण दर माघ १ गते ३१.८ प्रतिशतमा पुगिसक्यो ।
शनिबार मात्रै देशभर थप ४ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयको नियमित पत्रकार भेटघाटबाट सार्वजनिक भएको छ । हिजो शुक्रबार ५ हजार बढी मानिस कोरोनाबाट संक्रमित भएका थिए भने शुक्रबार मात्रै २० हजार भन्दा बढी मानिसमा परीक्षण गरिएको थियो ।
शनिबार १४ हजार ५ सय ५६ जनामा परीक्षण गर्दाको नतिजा ४ हजार ६ सय ३६ संत्रमित फेला परेका हुन् । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३ हजार ७ सय ३ र एन्टिजेन विधिबाट ९ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट गरिएको परीक्षण अनुसार ३५.६ प्रतिशत र एन्टिजेन विधिबाट गरिएको परीक्षण अनुसार २२.५ प्रतिशत संक्रमण दर देखिएको मन्त्रालयको भनाइ छ ।
मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र कास्की गरी ७ जिल्लामा ५ सय भन्दा बढी संक्रमित संख्या पुगिसकेको छ भने हाल देशैभर सक्रिय संक्रमितहरुको संख्या २१ हजार ५ सय ८४ जना रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । देशका अन्य विभिन्न ८ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित फेला परिसकेका छन् ।
शनिबार ३ सय ५० जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा कोरोना भइ मुक्त हुनेको संख्या ८ लाख १६ हजार ३ जना पुगेको छ । कोरोना भइ निको हुनेको दर ९६.१ प्रतिशत देखिएको छ ।
शनिबार नै कोरोनाबाट संक्रमित ४ जनाको मृत्यु भएसँगै कोभिड–१९ बाट संक्रमित भई मृत्यु हुनेको संख्या ११ हजार ६ सय १७ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा मृत्युदर १.४ प्रतिशत रहेको तथ्याङ्क छ ।
शनिबार देशभर थप ४ लाख ३५ हजार १९३ जनाले कोभिड–१९ विरुद्धको खोप दिइएको छ ।