दमक, १ माघ ।
बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्ने उपायका लागि भोलिबाट नेपाल सरकारले कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आइतबारबाट सुरु हुने बुस्टर मात्राको खोप लगाउने कार्यक्रममा अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिहरु प्रथमिकतामा पर्ने छन् ।
सरकारले अग्रभागमा रहेर खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई भोलि माघ २ गतेदेखि बुस्टर मात्रा खोप दिनेछ भने ६० वर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिहरुलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने मन्त्रालयको भनाइ छ ।
‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसहित देशैभरका ७७ वटै जिल्लास्थित स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिइसकेको सह प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
‘बुस्टर’ डोज रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीहरुलाई पनि दिने तयारी भएको मन्त्रालयको भनाइ छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधी सेवन गरेका बिरामी पर्दछन् । ‘बुस्टर’ डोज लगाउँदा पहिले जुन खोप पूर्ण मात्रा लगाएको हो, सोही खोप लगाउनुपर्ने विज्ञहरुको भनाइ छ ।
कोभिड–१९ खोप सल्लाहाकार समितिले नागरिकस्तरमा ‘बुस्टर’ डोज खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ ।