दमक, १९ माघ ।

सोनाम ल्होछार चाड आज विविध कार्यक्रम आयोजना गरी धुमधामका साथ मनाइँदैछ । तामाङलगायत विभिन्न आदिवासी समुदायहरुको सोनाम ल्होछार अर्थात नयाँ वर्ष २८५८ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औं वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको छ ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा सोनाम ल्होछार मनाउने गरिन्छ । ल्हो र छार यी दुई शव्द मिलेर ल्होछार बनेको छ । जसको अर्थ हुन्छ, ल्हो भन्नाले वर्ग र छार भन्नाले फेरिनु ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएको हुन्छ । त्यसैले यी समुदायले आफूलाई प्रकृतिपूजकका रूपमा चिनाउने गर्दछन् । आज गाई वर्गको समाप्ति र बाघ वर्गको सुरुवातको दिन हो ।
तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार सोनाम ल्होछार मनाउने गरेका छन् ।
विगत वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होछारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको ¥याली निकालिने गरिएको थियो । तर यस वर्ष भने ओमिक्रोन भेरियन्टसहितको कोरोना महामारीका कारण कुनै औपचारिक कार्यक्रम नराखिएको बताइएको छ ।
आजको दिन नेपाल सरकारले र बागमती प्रदेश सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक विदा दिएका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रीतपक्षी दलका नेता, अन्य राजनीतिक पार्टीहरुले सोनाम ल्होछारको उपलक्ष्यमा शुभकामना सन्देश जारी गरेका छन् ।
सन्देशमा उनीहरुले मौलिक नेपाली चाडपर्वहरुको प्रवद्र्धन र विकास एवम् आपसी एकता र हार्दिकताको विकासलाई जोड दिएका छन् ।