इलाम । इलामको माइ नगरपालिकामा शनिबारदेखि ‘ह्याप्पी ड्रिम्स चेप्टी’ सञ्चालनमा आएको छ । माइ नगरपालिका २ चेप्टीमा ‘ह्याप्पी ड्रिम्स’ सञ्चालनमा आएको हो ।
चेप्टी पार्क पुग्न झापाको सुरुङ्गादेखि ५ र बिर्तामोडदेखि २४ किलोमिटर उत्तर पश्चिम लाग्नु पर्छ ।
चुरे क्षेत्रको काखमा रहेको पश्चिम भागमा प्रसिद्ध तीर्थस्थल कनकाई नदी, दक्षिण भागमा नेप्टी खोल्सी, उत्तर(पूर्वी भागमा चेप्टी नदी र आकर्षक झोलुङगे पुल आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षण बन्न सक्ने सञ्चालक दिनेश सिवाकोटी बताउछन् ।
केबलकार र जीप लाइनसहित २ अर्वको लगानीमा पर्यटकीय क्षेत्र सम्पन्न गर्ने योजना रहेको ‘हेप्पी ड्रिम्स चेप्टी’का व्यवस्थापक बद्री महतले जानकारी दिए । उनका अनुसार हेप्पी ड्रिम्स चेप्टीसँगै धार्मिक पर्यंटकीय स्थलको रुपमा पनि विकास गरिने र जीप लाइनको नाप नक्सा तयार भइसकेको छ ।
चेप्टीमा बोटिङ, १८० फिट अग्लो झरना, घोडा, उट, बालबालिकाका लागि प्लेन, पिङ, पिकनिक स्पट, आकर्षक हिमाल, हिमालबाट बग्ने झरना, रक गार्डन, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु, ड्राइगन, हात्ती, जेब्रा लगायत बालबालिका, ज्येष्ठ नागरिकहरुका लागि मनोरञ्जनात्मक हेर्ने तथा खेल्ने संरचनाहरु तयार भएका छन् ।
‘अहिले ४० प्रतिशत मात्रै काम भएको छ’, सञ्चालक शिवाकोटीले भने–‘देशकै नमुना पार्क बनाउने उद्देश्यका साथ लागि परेका छौँ । धार्मिक पर्यटकिय स्थलका रुपमा विकाससँगै सेल्फी डाँडा, जम्पिङ, केवलकार, जिपलाइन, वोटिङ लगायतका कामहरु बाँकी रहेको छ ।’