मेचीनगर,२५ माघ । झापाको मेचीनगरमा अवस्थित पशुपति मा वि पूर्व विद्यार्थी समाजले पूर्व प्रधानाध्यापक स्व. टेकबहादुर बरालको १० औँ पुण्य स्मृतिमा फूलबारी पुन :निर्माण तथा पुष्प रोपण कार्यक्रम सम्पन्न गरेको छ ।
मेचीनगर नगरपालिका वडा नं. ४ स्थित पशुपति माविका पूर्व विद्यार्थीहरुले मंगलबार विद्यालयमा स्व.बरालको पुण्य स्मृति तथा विद्यालयको स्थापना दिवसको अवसर पारेर उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहभागी अतिथीहरू
हरेक वर्ष पूर्व विद्यार्थी समाजले माघ २५ कै दिन विविध कार्यक्रम गरी पूर्व प्रधानाध्यपकलाई सम्झदै आएको छ । १० वर्ष अघि स्व. टेकबहादुर बरालको सडक दुर्घटनामा परी निधन भएको थियो ।
आफ्नो कार्यकालमा पूर्व प्रअकै कारण विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार तथा अतिरिक्त क्रियाकलाप आदिमा राम्रो अवस्था रही विभिन्न क्षेत्रबाट विद्यालय पुरस्कृत समेत भएको थियो ।
शिक्षा कर्ममा मात्र नभई सामाजिक कार्यमा समेत बरालको भुमिका महत्वका साथ हेरिने गरिएको छ । सोही स्वभावका आफ्ना प्रअ गुमाएको कालो दिनको रुपमा पूर्व विद्यार्थीहरुले हरेक माघ २५ गते विभिन्न गतिविधि गर्ने गरेका छन्।

कार्यक्रममा फूलबारी पुन :निर्माण तथा पुष्प रोपण गरिदैं
पूर्व विद्यार्थी समाजले अघिल्लो वर्षहरुमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ती, पुरस्कार साथै सम्मानको कार्यक्रम गर्ने गरेको भएपनि गत वर्ष र यसपाली कोभिड १९ का कारण त्यस्तो नगरिएको पूर्व विद्यार्थी समाजकी अध्यक्ष तथा कार्यक्रमकी सभापति स्वस्तिका आचार्यले बताईन ।
पूर्व प्रअ विद्यालयको शैक्षिक गुणस्तरको साथसाथै सँधै फूलबारीमा व्यस्त रही सुन्दर बँगैचा निमार्णमा खटिरहने भएका कारण पनि गत वर्ष र यस फूलबारीको पुन: निर्माण तथा पुष्परोपण गरिएको आचार्यले बताइन ।
पूर्व विद्यार्थी तथा सोही वडाका अध्यक्ष नविन बराल,पूर्व विद्यार्थी अर्जुनकुमार कार्की,रविचन्द्र नेपाल ,प्रधानाध्यपक लक्ष्मण प्रधान लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा स्व. बरालकि श्रीमती मेनुका बराल,संस्थापक विधार्थी कर्णाखर चम्लगाई,विद्यालयका शिक्षक,लगायत पूर्व विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
पूर्व विद्याथी समाजका उपाध्यक्ष समिर राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव नरेन्द्र भट्टराईले गरेका थिए ।

