दमक, ३ फागुन ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशन आगामी चैत ६ र ७ गते चितवनको सौराहमा हुने भएको छ ।
यसअघि फागुन ७ र ८ गते सोही स्थानमा महाधिवेशन सम्पन्न गर्ने भनी निर्णय गरिए पनि कोरोना महामाहीका कारण महाधिवेशन सार्नुपरेको फोनिज संघीय समितिले जनाएको छ । फागुन २ गते बसेको फोनिज संघीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना महामारीको पछिल्लो लहर नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने तथा सभा, सम्मेलन, जुलुश अािद गर्न नपाउने भनी जारी गरेको निर्देशन यथावत रहेकाले महाधिवेशनको मिति परिवर्तन गर्नुपरेको बताइएको छ ।
कोरोनाकै कारण फोनिजले सातौं संघीय महाधिवेशनको यसअघि पनि माघ ७ र ८ बाट फागुन ७ र ८ मा सारेको थियो ।
प्रादेशिक महाधिवेशन सम्पन्न गर्न बाँकी प्रदेशहरुलाई २०७८ फागुन २० गते भित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन गरिएको महासचिव मनोज घर्तीमगरले जानकारी दिएका छन् ।
बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्न बाँकी रहेका सबै जिल्लाहरुलाई प्रादेशिक महाधिवेशन भन्दा ढिलोमा १० दिन अगाडि नै अधिवेशन सम्पन्न गर्न ध्यानाकर्षण गराएको हो ।