दमक, ६ फागुन ।

विवादास्पद अमेरिकी परियोजना एमसीसी बारेको प्रस्ताव आज शुक्रबार पनि संसद बैठकमा टेबल नहुने पक्का भएको छ ।
संसद बैठक आज दिउँसो १ बजेका लागि डाकिएको छ । यद्यपि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्ने कार्यलाई आज पनि कायमै राख्ने जनाएको छ ।
गत बुधबार संसदमा पेश गर्ने भनिएको अमेरिकी परियोजना एमसीसी प्रस्ताव दुई दिनपछि गर्नेगरी सरकारले स्थगन गरेको थियो । एमसीसीकै बारेमा शुक्रबार बिहान बसेको पाँच दलीय गठबन्धन बैठकले पुनः एमसीसी प्रस्ताव टेबल नगर्ने निर्णय गरेको हो ।
आज पनि एमसीसी संसदमा पेस गर्ने र नगर्ने विषयमा सत्ता गठबन्धन दलहरुबीच विवाद कायमै रहेकाले थाँती रहने बुझिएको छ ।
बैठकमा सत्ता गठबन्धनको एक घटक दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फागुन ७ गते आफ्नो पार्टीको स्थायी कमिटी बैठक बस्ने भएकाले सो भन्दा अघि एमसीसी टेबल नगर्न आग्रह गरेकाले शुक्रबार पेश गर्ने भनिएको एमसीसी प्रस्ताव रोक्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएका हुन् ।
शुक्रबारको बैठकमा काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजावदीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
एमसीसीका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धनको बैठक फागुन ८ गते आइतबार पुनः बस्ने बताइएको छ ।