adv

प्रदेश नम्बर १ को नामाकरण बारे सर्वदलीय बैठक फागुन १० मा

५ दलीय गठबन्धनले सहमतिमै साझा नाम प्रस्ताव गर्ने

दमक, ६ फागुन ।

बिराटनगरस्थित प्रदेश नम्बर १ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय ।

प्रदेश नम्बर १ सरकारले प्रदेशको नामाकरण बारे सर्वदलीय बैठकबाट सहमतिको प्रयास गर्ने भएको छ । सर्वदलीय छलफलका लागि फागुन १० गते बैठक डाकिएको हो ।

प्रदेश सरकारका स्वास्थ्य मन्त्री एवम् जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवका अनुसार प्रदेश नम्बर १ को नामकरण सम्बन्धमा आवश्यक छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको सर्वदलीय बैठक डाकिएको हो ।

मन्त्री यादवका अनुसार फागुन १० गतेको बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, सम्बन्धित दलहरूका प्रदेश समितिका अध्यक्ष वा प्रमुख र प्रदेश सरकारका सबै मन्त्रीहरू सहभागी हुने छन् ।

हिजो बिहीबार मुख्यमन्त्री राजेन्द्र राईको उपस्थितिमा सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरु र सरकारका मन्त्रीहरुको बैठक बसेको थियो । उक्त बैठकले प्रदेशको नामाकरणका लागि प्रकृया अगाडि बढाउने र फागुन १० गते सर्वदलीय बैठक आयोजना गर्ने निर्णय गरेको थियो ।

बैठकमा सत्तारुढ नेपाली काङ्ग्रेसका तर्फबाट संसदीय दलका उपनेता एवम् सडक, पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे सहभागी थिए ।

बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश नम्बर १ को साझा नाम प्रस्ताव गर्ने प्रारम्भिक सहमति गरेको बताइएको छ ।

प्रदेशको नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न प्रदेश सरकारका तर्फबाट मन्त्री यादवलाई संयोजक तोकिएको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु