झापा, ९ फागुन । झापाकी पत्रकार माया पकुवालको निधन भएको छ । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको आज विहान ४ः१० मा निधन भएको हो ।
केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा कार्यरत थिइन् ।
एक साता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा नियमित डाइलासिस भइरहेको थियो ।
ओमसाई हस्पिटलको आइसीयुमा राखेर उपचार भइरहेकै अवस्थामा सोमवार विहान उनको निधन भएको पारिवारिक स्रोतबाट थाहा भएको छ ।
उनी नेपाल पत्रकार महासंघ झापा, प्रेस चौतारी झापा, नारी सञ्चार गृह झापा, भद्रपुर प्रेस क्लव लगायतका संस्थामा आवद्ध रहेकी थिइन् ।