adv

प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा टेम्केको विजयी सुरुवात

कमल, २५ फागुन । प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा आयोजक समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समितिलाई १–० ले पराजित गर्दै टेम्केले विजयी यात्रा सुरुवात गरेको हो ।

टेम्के फुटबल क्लब सुनसरीका खेलाडीहरू

पहिलो हाफको २६औं मिनेटमा टेम्केका जनक कोइरालाले गोल गर्दै टिमलाई अग्रता दिलाएको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलमा दुबै टिमले गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा थप गोल हुन सकेन ।

उद्घाटन खेल समेत रहेको बुधबारको खेलको प्लेयर अफ द म्याच टेम्केका स्टाइकर जनक कोइराला भए । उनले नगद २ हजार ५ सय रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बिहिबारको क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ पकली सुनसरी र धनकुटा फुटबल क्लबबीच हुने खेल संयोजक तेजकुमार राईले बताए ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेडहर्ष फुटबल क्लब इलाम, एपिएफ पकली सुनसरी, र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापा रहेको छ ।

कमल गाउँपालिकाका खेलाडीहरू

प्रतियोगिताको विजेताले नगद २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ । खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडी साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीहरु पुरस्कृत हुनेछन् ।

प्रतियोगिताको उद्घाटन समारोह कार्यक्रम कमल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष चतुरभुज सुवेदीको अध्यक्षतामा तथा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद सिवाकोटि, गाउँपालिका लेखा अधिकृत सृजना राई, वडाध्यक्षहरु केदार कटुवाल, तारानाथ न्यौपाने, नरप्रसाद दंगाल, प्रेम बहादुर राई, डम्बर निरौला, नरेन्द्र भट्टराई र पृथ्वीपति राई लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रम समितिका सचिव सुर्यप्रसाद न्यौपानेले सञ्चालन गरेको थियो । प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा भइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु