adv

जसपामा उम्मेदवार स्थानीय पार्टी समितिले तोक्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा स्थानीय पार्टी समितिलाई दिने निर्णय गरेको छ । शुक्रबार बसेको जसपा कार्यकारिणी बैठकले उम्मेदवार छनोटको जिम्मेवारी स्थानीय पार्टी समितिलाई दिने भएको हो ।

तय गरेको मापदण्डअनुसार तल्ला कमिटीबाट उम्मेदवार छनोट गर्ने र विवाद देखिए मात्र माथिल्ला कमिटीले हस्तक्षेप गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । स्थानीय तहले उम्मेदवार छान्न नसके जिल्ला कमिटीमा लैजाने गरी निर्देशिका तयार पारिएको छ । जिल्ला कमिटीले पनि निरुपण गर्न नसकेको अवस्थामा प्रदेश कमिटीले उम्मेदवार तय गर्नेछ ।

उम्मेदवारको विषयमा तल्ला कमिटीले विवाद निरुपण गर्न नसकेको अवस्थामा केन्द्रमा एउटा कमिटी बनाएर निष्कर्ष दिने निर्देशिकाले व्यवस्था गरेको छ । निर्वाचन निर्देशिका तयार पार्न जसपाले तीन सदस्यीय समिति बनाएको थियो । जसमा कार्यकारिणी सदस्य नवराज सुवेदी, हिसिला यमी र मनीष सुमन रहेका थिए ।

जसपाको कार्यकारिणी समिति बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्ताबेज पनि अनुमोदन गरेको छ । प्राप्त सुझावलाई समेटेर शनिबार बस्ने संघीय परिषद् बैठकमा दुवै प्रतिवेदन पेस गरिने पार्टी स्रोतले बताए ।

उम्मेदवार छनोट पारदर्शी रूपमा गर्न नीति बनाएरै अघि बढ्ने योजनासहित निर्देशिका तयार पारिएको पार्टी स्रोतले बताए ।

बैठकमा समिति समायोजनको विषय पनि उठेको छ । तत्कालीन संघीय समाजवादी र नयाँ शक्ति एकतापछि समायोजन गर्न बाँकी पार्टी समितिहरूको काम टुंग्याउने विषयमा कार्यकारिणीमा छलफल भएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु